कुखुराको मासुको भाउ क्रमशः घटिरहेको छ । तीन महिनाअघि प्रतिकिलो ४५० रूपैयाँ पुगेको कुखुराको मासुको मूल्य अहिले ३०० रूपैयाँ किलोमा झरेको छ । पोल्ट्री किसानहरुले यतिबेला कुखुरा बेचेर लागतसमेत उठेको छैन ।
ह्याचरी उद्योग संघका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेलले भारतबाट अवैधरुपमा कुखुराको मासु आयात हुँदा स्वदेशी मासुको मूल्य घटेको बताए । उनले भने, ‘अहिले कुखुरापालक किसानले आफ्नो लागत पनि उठाउन सकेका छैनन्, कुखुराको मासुको मूल्य क्रमशः घटिरहेको छ ।’

उनका अनुसार तीन महिनाअघि प्रतिकिलो ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ४५० रूपैयाँ थियो, अहिले क्रमशः घट्दै आएर ३०० रूपैयाँमा झरेको छ । उनले भने, ‘कुखुरापालक किसानले लागतसमेत पाएका छैनन्, मासुको मूल्य नै छैन । भारतबाट अवैधरुपमा तयारी मासुले बजार खाइरहेको छ ।’ राज्यको उदासीनताका कारण पोल्ट्री किसानहरु मारमा परेका छन् ।

कुखुराको मासुको मूल्य घटे पनि खसी–बोकाको मासुको मूल्य घटेको छैन । खसी र राँगाको मूल्य बढिरहँदा कुखुराको मासुको मूल्यमा गिरावट आइरहेको पोल्ट्री व्यवसायीहरु बताउँछन् । कुखुरा बेचेर लागतसमेत नउठेपछि किसानले कुखुराको चल्ला यतिबेला हाल्न पनि सकेका छैनन् ।

किसानले यतिबेला एउटा जिउँदो ब्रोइलरलाई प्रतिकिलो १७० रूपैयाँदेखि १८० रूपैयाँ किलोमा बेचिरहेका छन् । ह्याचरी उद्योग संघका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर बिसुरालका अनुसार एउटा जिउँदो ब्रोइलर कुखुरालाई किसानले प्रतिकिलो १७० देखि १८० रूपैयाँसम्म बेचिरहेका छन्, जब कि एक किलो कुखुरामा किसानको कम्तीमा २०० रूपैयाँ लागत पर्छ ।

उपाध्यक्ष बिसुरालले भने, ‘किसानले प्रतिकिलो २० रूपैयाँ घाटामा खोरबाट कुखुरा बेचिरहेका छन्, अनि थप नयाँ चल्ला कसरी हाल्न सक्छन् ?’ उनका अनुसार दाना र चल्लाको भाउ बढे पनि कुखुरापालक किसानले मूल्य पाएका छैनन् । भारतबाट अवैधरुपमा भित्रिएका तयारी मासुले स्वदेशी कुखुरापालक किसान मारमा परेका उनी बताउँछन् ।

होटलहरुमा पनि कुखुराको मासुको खपत कम भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन कम भएका कारण पनि होटलमा पछिल्लो समय मासुको खपत कम भइरहेको छ । अनि भारतबाट सस्तोमा कुखुराको तयारी मासु आइदिँदा यहाँका पोल्ट्री किसानहरुले कुखुराको मासुको मूल्यमा गिरावट आएको उपाध्यक्ष बिसुरालले बताए ।

चितवन पोल्ट्रीको राजधानीको रुपमा चिनिन्छ । नेपालको कूल पोल्ट्रीजन्य उत्पादनको अधिकांश हिस्सा चितवनले नै ओटेको छ । अण्डा, दाना, चल्ला उत्पादनमा त चितवन झनै अगाडि छ । पोल्ट्रीजन्य पदार्थको सप्लाई सेन्टरका रुपमा पनि चितवन विकसित हुँदै गएको छ । नेपालमा खपत हुने ७० प्रतिशत चल्ला, २८ प्रतिशत हाराहारी दाना चितवनबाट नै जाने गरेको छ ।

पछिल्लो समय दाना र चल्लाको मूल्य बढेका कारण पनि किसानहरुले आफ्नो खोरमा चल्ला हाल्न नसकेका पोल्ट्री व्यवसायीहरु बताउँछन् । उपाध्यक्ष बिसुरालले भने, ‘यो बेला कुखुराको मासुको सिजन पनि होइन, साउनमा त मासु खपत निकै कम हुन्छ, त्यसको असरका कारण पनि मासुको खपत भएको हुनसक्छ ।’ उनका अनुसार चितवनलाई पोल्ट्रीको राजधानी माने पनि यहाँ लगानी बढ्न सकेको छैन ।

‘दानाको मूल्य नघट्दासम्म किसानले चल्ला हाल्न सक्दैनन्’ विसुरालले भने, ‘बैंकले ऋण दिएको छैन, तरलता छ, व्याजदर बढेको छ । अनि किसानले कसरी कुखुराको चल्ला हाल्न सक्छन् ? चल्ला नहाल्दासम्म उत्पादन बढी हुन सक्दैन, अहिले कम उत्पादन भए पनि भारतबाट आयातित मासुले यहाँको मासुले मूल्य पाहुन सकेको छैन ।’

चितवन पोल्ट्री उत्पादनको हिसाबले सबैभन्दा अगाडि छ । सबैभन्दा बढी व्यवसायिक रुपमा कुखुरापालन गर्ने फर्म र कृषक भएको जिल्लामा चितवन पर्छ ।

सबैभन्दा बढी ब्रोइलर कुखुरा उत्पादन गर्ने जिल्लामा पनि चितवन नै अगाडि छ । देशभरको उत्पादनको झन्डै २० प्रतिशत ब्रोइलर चितवनमा नै उत्पादन हुन्छ । नेपालमा कूल उत्पादन अण्डामध्ये ७० प्रतिशत चितवनमा उत्पादन हुन्छ । कुखुरापालन व्यवसाय संख्या चितवनमा २ हजारभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस !