चितवनः जिल्लामा रहेका एचआईभी संङ्क्रमित मध्ये ९ दशमलब २५ प्रतिशतमा यौनरोगको समस्या देखा परेको छ । भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी सेन्टरका अनुसार गत ६ महिनामा १ सय ८ जनामा गरिएको परिक्षणका क्रममा उनीहरुमा यो सङ्क्रमण देखिएको हो ।
सेन्टरका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाका अनुसार परिक्षण गरिएका मध्ये १० जनामा यो समस्या देखिएको हो । उनीहरुमा भिरिङ्गी, गोनोरीया, सेतोपानी बग्ने, छालामा खटिरा आउने समस्या देखिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय यौनरोगको समस्या बढ्नुमा असुरक्षित यौन सम्पर्क र यौनाङ्गको हेरचाहामा ध्यान नदिदा भएको पाईएको उहाँले बताउनुभयो ।
एचआईभी सङ्क्रमितहरुमा यस अघि यो समस्या नदेखिएको भन्दै उहाँले यसले समसया निम्त्याउन सक्ने बताउनुभयो । भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले एचआईभी संक्रमित भएर पनि नियमित औषधि सेवन गर्नेहरुमा देखिएमा खासै समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो “औषधि नखाएकाहरुमा देखा परेमा फैलन सक्ने समस्या हुन्छ ।” अहिले यौन रोगको समस्या औषधि सेवन गरिरहेकामा देखिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा पछिल्लो ६ महिनामा ५७ जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको छ । जस मध्ये ३७ जनाको भरतपुर अस्पतालमा पुष्टि भएको हो भने अन्यको बिभिन्न स्थानमा रहेका परिक्षण केन्द्र र समुदायमा गरिएको परिक्षणमा पुष्टि भएको सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा १ हजार ७३ जनाले एचआईभी एड् प्रतिरोधात्मक औषधि एआरबी सेवन गर्दै आएका छन् । सोही अबधिमा यहाँबाट औषधि सेवन गरिरहेका २२ जनाले अन्य जिल्लाबाट औषधि खानका लागि सिफारीस लगेका छन् । ६ जना एचआईभी सङ्क्रमित आमाहरुले स्वस्थ बच्चा जन्माएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमित मध्ये ९ जनाको मृत्यु भएको छ भने ६ जनामा हेप्पटाइटिस सि देखा परेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !