चितवन : सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेको ऐन, नियमावली र निर्देशिकाका कार्यान्वयनमा कडाई गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका समन्वयमा हेल्थ टुडेले आज (बिहीबार) स्वास्थ्य कार्यालय चितवनमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले सो बिषयमा जोड दिनुपर्ने बताएका हुन् । हेल्थ टुडेका अध्यक्ष पदमराज जोशीले ऐन, नियमावली र निर्देशिका कार्यान्वयन फितलो भएको भन्दै कडा गर्नुपर्ने बताए ।
उनले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने असर बारे जनचेतनाको कमी भएको बताए । सरोकारहरुले जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने उनको भनाइ थियो । उनले सरोकारवालाहरुले अनुगमन र नियमनलाई प्रभावकारी बनाउनुपर्ने तर्क राखे । ऐन कानुनले निषेध गरेका क्षेत्रमा नै हुने खुलेयाम धुमपान तथा सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा सबैले महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।
स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख रामकुमार केसीले पनि सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेको ऐन कार्यन्वयन फितलो भएको बताए । यस्तै उनले जनसमुदायका अझै सचेतनामुलक कार्यक्रम आवश्यक रहेको औंल्याए । सरकारले बर्षेनी कर बढाउँदा पनि प्रयोगकर्ताको संख्या नघटेको उनको भनाइ थियो ।
एक अध्ययनअनुसार सुर्तीजन्य पदार्थको सेवनबाट विश्वभर ८० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालमा पनि वर्षेनी २७ हजार १३७ जनाको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको छ । यस्तै ८० देखि ९० प्रतिशत फोक्सोको क्यान्सर सुर्तीजन्य पदार्थको प्रयोगबाटै हुने गरेको तथ्याङ्कले देखाउँछ ।






