चितवनः कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय जना विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टर (Ramat Negev International Training Center)को सहकार्यमा यहाँका बिद्यार्थी पठाउन लागिएको हो ।
बिश्वबिद्यालयले छनोट समिति बनाएर बिद्यार्थी छानी सकेको छ । बिश्वविद्यालयका योजना निर्देशक एबं छनोट समितिका सदस्य सचिब डा. शिबचन्द्र ढकालका अनुसार एग्रिकल्चर वर्क–स्टडी कार्यक्रम अन्तर्गत इजरायल जानका लागि विद्यार्थी छनौट भएका हुन् । विद्यार्थीलाई इजरायल पठाउनका लागि विश्वविद्यालयका संकाय तथा आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुबाट आवेदन माग गरिएको थियो ।
ढकालका अनुसार कार्यक्रममा सहभागी हुन २ सय ७३ जना विद्यार्थीहरुले आवेदन दिएका थिए । त्यस मध्ये १ सय ६८ जना विद्यार्थी गोलाप्रथाको माध्यमबाट अन्तर्वार्ताका लागि छनौट भएका थिए । ती मध्ये अन्तवार्तामा सहभागी १ सय २५ जनाबाट एक सय जना छनोट गरी २५ जनालाई बैंकल्पिकमा राखिएको छ । नेपालका लागि इजरायलका राजदुत हनान गोडर र इजरायलका लागि नेपालका राजदुत डा. कान्ता रिजालको उपस्थितीमा विद्यार्थीको अन्तर्वार्ता लिइएको थियो ।
ती बिद्यार्थी ११ महिना इजरायल बस्ने छन् । त्यहाँ रहँदा पाँच दिन काम, एक दिन अध्ययन र एक दिन बिदा पाउने गरी सम्झौता भएको छ । काम गरे बापत एक जना बिद्यार्थीले रु १२ लाख हाराहारी रकम संगै प्रबिधि र सिप लिएर आउने बिश्वबिद्यालयको अपेक्षा रहेको छ । बिश्वबिद्यालयका उपकुलपति प्रा.डा. पूण्यप्रसाद रेग्मीका अनुसार त्यहाँ सिकेको सिप र रकम लिएर फर्कने बिद्यार्थी यहाँ आए पछि एकल र समुहगत रुपमा काम गर्न सक्ने छन् । स्थनातक अन्तिम वर्षको परिक्षा दिएर जाने ती बिद्यार्थीले फर्किए पछि मात्र बिश्वबिद्यालयबाट शैक्षिक प्रमाणपत्र पाउने छन् । बिद्यार्थी त्यहाँ नबसुन भन्नका लागि शैक्षिक प्रमाणपत्र बिश्वबिद्यालयले रोकेर राख्न लागेको हो ।
कृषि शिक्षा तर्फ आकर्षण घट्न नपाओस भन्नका लागि यो कार्यक्रम अघि वढाईएको उहाँ बताउनुहुन्छ । पहिलो पटक बिश्वविद्यालयले यो कार्यक्रम गर्न लागेको हो । साउनको अन्तिम साता सम्ममा बिद्यार्थी जाने गरि तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !