चितवनः नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दा समेत बिद्यार्थीहरुले पुस्तक पाउन कठिन भएको छ । सामुदायीक बिद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख बिनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र काक्षा ८ को नेपाली, स्वास्थ्य र अग्रेजी बिषयको पाठ्यपुस्तक अभाव भएको हो । अन्य पुस्तकहरु धमाधम बितरण भईरहेको उहाँले जानकारी दिनुभयो ।
चितवन सहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यस केन्द्रबाट पुस्तक बितरण गर्ने गरिएको छ । गत वर्ष यस केन्द्रबाट ४५ लाख सेट पुस्तक बितरण गरिएको थियो । यस शैक्षिक सत्रमा अहिले सम्म ३० हजार सेट पुस्तक बितरण गरिएको छ । अझै १५ हजार सेट पुस्तक माग भएको उहाँले बताउनुभयो । थप माग भएका पुस्तकहरु केन्द्रिय कार्यालय संग माग भएको बताउँदै उहाँले यही महिना भित्र पुस्तक बिद्यार्थीहरुको हातहातमा पुग्ने बताउनुभयो ।
यहाँबाट बितरण हुने जिल्लामा १६५ वटा पुस्तकपसलहरु दर्ता भएर पुस्तक बिक्रि बितरणका लागि लगेका छन् । टाढाबाट आएका व्यवसायीहरुले अहिले दर्ता गर्दै पुस्तक लाने गरेको उहाँको भनाई छ । जिल्लामा मात्रै ८९ वटा पुस्तक पसलहरु दर्तामा रहेको छन् । जिल्लामा ३२५ सामुदायीक बिद्यालयहरु रहेका छन् । ती बिद्यालयमा ९५ हजार २०४ बिद्यार्थी अध्ययनरत रहेका छन् ।
शिक्षा बिकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुबेदीले पुस्तकको अभाव हुन नदिनका लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई अनुरोध गरिएको बताउनुभयो । यस जिल्लालाई उच्च प्रथामिकतामा राखेर थप पुस्तक पठाउनका लागि लिखित रुपमा अनुरोध गरीएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !