चितवनः जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीले रूख र विजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुरको विद्युत सेवा पूर्ण रुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ । हावाहुरीका कारण भरतपुर महानगरपालिकाका १४० वटा विद्युतका पोल ढालेका हुन् ।
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १ देखि ६ सम्म ती पोलहरु ढलेका हुन । ती पोललाई व्यवस्थित गरेर पूर्णरुपमा विद्युत सञ्चालन गर्नका लागि अझै ५ दिन लाग्ने उहाँले बताउनुभयो ।
केन्द्रका प्रमुख राजिवकुमार सिंहका अनुसार भरतपुर सबस्टेसनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध भएको हो । भरतपुरमा हावाहुरीले पोल ढल्दा ठाउँठाउँमा तार चुडिएका छन् । ढलेका पोल र तार मर्मताका लागि प्राधिकरणले चार वटा ठेकेदारको टोली र प्राधिकरणको सम्पूर्ण प्राबिधिक शक्ति परिचालन गरेको सिंहले बताउनुभयो ।
उहाँले अस्पताल र सुरक्षा निकाय, मत गणना स्थल, खानेपानी लगायतका सम्वेदनशील क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विद्युत सूचारु गरिएको बताउनुभयो । चनौली सबस्टेसनबाट वितरण हुने बिजुलीमा भने समस्या नरहेको इन्जिनियर पौडेलले बताउनुभयो । भरतपुर पश्चिम क्षेत्रमा विद्युत प्रबाहमा समस्या नभए पनि सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म विद्युत प्रवाहमा समस्या रहेको उहाँले जानकारी दिनुभयो । हावाहुरीका कारण रु ३० लाखको सामाग्री क्षती भएको र रु ५ करोडको विद्युत खपत अबरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।
विद्युत लामो समय नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ भने खानेपानी र इन्टरनेट समेत प्रभावित छ । शुक्रबारको हावाहुरीका कारण तीनजनाको ज्यानसमेत गएको थियो भने ११ जना घाइते भएका थिए । हावाहुरीले भरतपुरको मुख्य शहरी क्षेत्रका धेरै रुखहरु लडेका छन् । धेरैजसो ठाउँमा रुखले विद्युत पोल लडाएको छ ।






