चितवनः चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ । चौबीसै घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालनमा ल्याईएको हो ।

अस्पतालका निर्देशन डा. दयाराम लम्सालले घाईते र अन्य बिरामी एकै ठाउँमा राखेर उपचार गर्दा कहिलेकाही घाइते प्राथमिकतामा नपर्ने हुँदा छुट्टै ट्रमा सेन्टर शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “इमर्जेन्सीमा कहिले मुटु, कहिले ब्रेनहेमरेज, कहिले सानो बच्चा बिरामी आउँदा ट्रमाको बिरामी प्राथमिकतामा नपर्न सक्छन् । तर ट्रमा सेन्टरमा प्राथमिकता पाउँछन् ।” घाईतेको उपचारमा अझै बढी ध्यान पुगोस् भनेर सेवा शुरु गरिएको उहाँको भनाई छ ।

उहाँले ट्रमा सेन्टरमा विशेषज्ञ चिकित्सकहरुलाई छिटो जोड्न सकिने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “ट्रमा सेन्टर बनाउँदा घाइते र अन्य बिरामीलाई न्याय हुन्छ । विकसित राष्ट्रहरुमा ट्रमा सेन्टर छुट्टै बनाउने प्रचलन छ ।” दुवै प्रकृतिका बिरामी एकै ठाउँमा राखेर उपचार गर्न हुँदैन भन्ने नभएको बताउँदै उहाँले ट्रमा सेन्टर बनाउदा उत्तम भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो उत्तम कार्य हो भनेर हामीले शुरु गरेका हौं । अझै छिटोछरितो र गुणस्तरीय सेवा होस् भन्ने चाहना हाम्रो हो ।”

ट्रमा सेन्टरमा एनेस्थेसिया, जनरल सर्जरी, अर्थाेपेडिक सर्जरी, म्याग्जिलोफेसियल लगायतका सेवालाई सक्रिय गर्न सजिलो हुने बताउँदै डा. लम्साललु भन्नुभयो “ट्रमा टिम नै चाहिन्छ, एक जना मात्रै भएर हुँदैन ।”

ट्रमा हेर्दै आउनु भएका सघन उपचार सम्बन्धी विशेषज्ञ डा. वसन्त गौलीका अनुसार ट्रमाका सम्पूर्ण मापदण्डहरु पालना गरेर सेवा शुरु गरिएको छ । सेन्टरमा ट्रमा आकस्मिक कक्ष, ट्रमा सघन उपचार कक्षु, ट्रमा शल्यक्रिया (अप्रेशन) कक्ष, ट्रमा पोष्टअप, ट्रमा वार्ड रहेका छन् । दुर्घटनाका घाईते परीक्षणका लागि आवश्यक पर्ने, एक्सरे, सिटीस्क्यान, एमआरआई लगायत सम्पूर्ण सुविधा सेन्टरमा नै उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो ।

डा. गौलेले भन्नुभयो “जनरल इमर्जेन्सी (आकस्मिक कक्ष) मा मेडिकल, सर्जकल सबै खालका बिरामी हुन्छन् । उनीहरुको गम्भीरता हेरेर पहेँलो, हरियो, रातो भनेर छुट्याईन्छ । आकस्मिकमा कुनै बिरामीलाई विस्तारै उपचार गर्दा पनि हुन्छ । त्यही भिडमा ट्रमा (दुर्घटना लगायतका घाइते) बिरामी आयो भने अलपत्र हुन सक्छ ।” तर ट्रमा सेन्टरमा दुर्घटनाका घाइते मात्रै आउने हुँदा उनीहरुलाई समयमा राम्रो र गुणस्तरीय उपचार सेवा पाउने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो “आकस्मिक कक्षमा आएदेखि कसरी हेर्ने, कसले हेर्ने, शल्यक्रिया कति समयमा गर्ने भन्ने मापदण्डका आधारमा उपचार हुन्छ । आकस्मिक शल्यक्रिया गर्नु परे तत्काल हुन्छ । २४ घण्टा चिकित्सक हुन्छन् । ”

ट्रमा सेन्टरमा दुर्घटनाका घाइते आउँदै छन् भनेपछि त्यही अनुसार तयारी हुने बताउँदै डा. गौलीले भन्नुभयो “कतिपय बेवारिसे घाइते अस्पताल पुगेर अलपत्र पर्ने हुन्छ । तर ट्रमा सेन्टरमा आएका घाइते अलपत्र पर्दैनन् ।” दुर्घटनाका घाइतेका आफन्त दुई चार घण्टापछि मात्रै आउन सक्ने बताउँदै उहाँले त्यस्तो घाईतेलाई कसरी उपचार शुरु गर्ने, उपचारमा चाहिने औषधि लगायतका सामग्रीको व्यवस्थापन ट्रमाको टिमले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “रक्त संचार केन्द्र, आफन्त, प्रहरीलगायत साना साना कुरामा पनि समन्वय हुन्छ ।”

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटले ट्रमा सेन्टर चितवनको स्वास्थ्य सेवामा एउटा नयाँ आयाम भएको बताउनुभयो । उहाँले चितवनमा विशिष्टिकृत सेवासहितको ट्रमा सेन्टर संचालनमा आएसँगै चितवन र आसपासका जिल्लाका दुर्घटनाका घाइते उपचारका लागि राजधानी धाउनु पर्ने बाध्यता हटेको बताउनुभयो ।

देशको केन्द्रभाग र राजमार्गको सञ्जालमा रहेकाले जिल्लामा दुर्घटनाका धेरै घाइते आउने गर्दछन् । ट्रमा सेन्टर शुरु भएसँगै घाईतेहरु लाभान्वित हुने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !