काठमाडौः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताउनु भएको छ ।

नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदैछैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु ।मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ ।”

उहाँले संसदीय व्यवस्थामा दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताउनुभयो । गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहररुलाई पनि राम्रो नगर्ने उहाँको भनाइ छ ।

महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताउनुभयो । उहाँले स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने बताउनुभयो । त्यसैले अवस्था हेरेर तालमेल गर्ने भनी निर्णय गरिएको उहाँको भनाइ छ ।

तल्लो कमिटीमा दलहरूबीच कुरा नमिले केन्द्रबाट हस्तक्षेप नहुने उहाँले बताउनुभयो । “स्थानीयस्तरमा पार्टीबीच कुरा मिले तालमेल हुन्छ । माथिबाट थोपरेर हुँदैन । त्यसलाई कसैले मान्दा पनि मान्दैन” थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !