चितवनः भरतपुर महानगरपालिका भित्र रहेका बिद्यालयहरुमा स्थानीय तह–प्रहरी– बिद्यालय सम्पर्क कार्यक्रमको सम्झौता भएको छ । भरतपुर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ आयोजना गरेको शान्तिपूर्ण एबं सुरक्षित समाजका लागि चेतना मुलक बिद्यालय पाठ्यसामाग्री २०७८ सम्बन्धी अभिमुखिकरण एबं समझदारी पत्रमा हस्ताक्षर समारोहमा महानगरका बिद्यालयका प्रध्यानाध्यापकहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ, भरतपुर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामबन्दु सुवेदीको रोहबरमा बिद्यालयका प्रध्यानाध्यापक, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारी र महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । सम्झौता पत्रमा हस्ताक्षर पछि शैक्षिक संस्थाको नेतृत्वका लागि चेतनामुलक बिद्यालय पाठ्यसामाग्री समेत सार्बजनिक गरिएको थियो ।
सामाग्री सार्बजनिक सगै हरेक बिद्यालयका प्रध्यानाध्यापकहरुलाई पुस्तक समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले पछिल्ला समयमा बिद्यालयमा हुने गरेका अपराध नियन्त्रणका लागि यो पाठ्यसामाग्री तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “यो पुस्तक अपराध नियन्त्रणका लागि महत्वपूर्ण बन्ने छ ।” पछिल्ला दिनहरुमा बिद्यालयहरुमा हुने गरेका यौन हिंसाका घटना र अपराधिक कृयाकलाप नियन्त्रणका लागि बिद्यालयका प्रध्यानाध्यापकहरुसंग सम्झौता पत्रमा हस्ताक्षर गरेको उहाँको भनाई थियो ।
सो अबसरमा बोल्दै महानगरपालिका उपप्रमुख पार्बती शाह ठकुरीले समाजमा हुने अपराध नियन्त्रणमा पाठ्यसामाग्री वहुउपयोगी बन्ने बताउनुभयो । सामाजमा हुने गरेका अपराध नियन्त्रणमा सहयोगी पुस्तक पाठ्यसामाग्री बिद्यालयमा पु¥याउनु महत्वपूर्ण काम भएको उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले समाजमा हुने अपराधिक कृयाकलाप नियन्त्रणमा सहयोग गर्न बिद्यालयहरुलाई आग्रह गर्नुभयो ।
बिद्यालयमा हुने अपराधन र बिद्यार्थीलाई प्रयोग गरेर गरिने अपराधिक कृयाकलाप नियन्त्रणका लागि यो पाठ्यसामाग्री महत्वपूर्ण हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख अधिकारीले बताउनुभयो । अहिले ठूलो संख्यामा बालबालिका लागुऔषधको प्रयोग कर्ताको रुपमा रहेको भन्दै उहाँले यसलाई रोक्नका लागि प्रहरी बिद्यालय सम्पर्क समिति गठन गर्न समेत अनुरोध गर्नुभयो । अतिरिक्त क्रियाकलापका समयमा यो पाठ्यपुस्तक पढाईदिन प्रध्यानाध्यापकहरुलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
सो अबसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, भरतपुर महानगर प्याप्सन अध्यक्ष लेखनाथ खनाल, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे लगाएतले बोल्नुभएको थियो ।






