चितवनः जिल्लाका विभिन्न आठ ठाउँमा एउटै समयमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक फरक ठाउँमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको छ ।

भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाको खैरहनी नगरपालिका वडा नं. २ मा अवस्थित किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रा.लि., भरतपुर महानगरपालिका वडा नं. ८ को मदनकृष्ण मानन्धरको कमर्सियल लेयर्स फार्म र भरतपुर महानगरपालिका वडा नं. २३ मा अवस्थित खेमलाल भुषाल र चन्द्र भुषालको कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो ।

यसैगरी भरतपुर महानगरपालिका वडा नं. १६ स्थित एजे पोल्ट्री फार्म, भरतपुर २३ का अविशेक रामदामको फार्म, खैरहनी नगरपालिका वडा नं. १० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं. ३ स्थित ध्रुव अधिकारीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं. ६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लू देखिएको हो ।

ती फार्म मध्ये कँडेल, मानन्धर र भुषालको फार्मलाई अनुगमन गरी त्यसको परिधि क्षेत्रभित्रका पंक्षी नष्ट गर्ने निर्णय भएको कार्यालयका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ६ वटा फार्ममा टोलीले अनुगमन गरेर परिधि तय गर्न बाँकी रहेको छ ।

बर्डफ्लू नियन्त्रण समिति चितवनले निर्णय गरेपछि थप ती ठाउँहरुमा पंक्षी नष्ट गरिने उहाँले जानकारी दिनुभयो । ती सबै ठाउँको नमूनाको नतिजा बिहीबार आएको हो । जनशक्ति अभावका कारण काममा ढिलाई भएको उहाँले बताउनुभयो । यस अघि जिल्लामा पाँच ठाउँमा बर्डफ्लू देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !