मुगु । हिमाली जिल्ला मुगुका २८ हजार भन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ । नेपाल सरकारले अभियानकै रूपमा देशभर आगामी २५ गतेदेखि वैशाख ८ गतेसम्म सञ्चालन गर्न लागेको टाइफाइडविरुद्ध खोप अभियानमा दुर्गम जिल्ला मुगुका २८ हजार ७८३ बालबालिकालाई खोप दिइने भएको हो ।

शुक्रबार जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले सदरमुकाम गमगढीमा आयोजना गरेको जिल्ला स्तरीय खोप समन्वय समिति र जिल्लामा रहेका सञ्चारकर्मीबीचको अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा आगामी २५ गतेदेखि बैशाख ८ गतेसम्म अभियान चलाएर २१ हजार ११६ विद्यार्थी र ७ हजार ६६७ विद्यालय बाहिरका १५ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख उमेश गौतमले जानकारी दिए ।

बालबालिकालाई दिइदै आएको नियमित १२ वटा खोपमध्ये अब टाइफाइडविरुद्धको खोप पनि नियमित दिइने बताइएको छ । राष्ट्रिय अभियानका बेला जिल्लाका १५८ विद्यालय र बाँकी स्वास्थ्य संस्थाहरू गरी जिल्लाभर १७० वटा खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले बताए ।

खोप सुपरभाइजर रावलका अनुसार स्थानीय तह अनुसार छायाँनाथ रारा नगरपालिकामा १०,३३४ जना, मुगुम कार्मारोङ्ग गाउँपालिकामा २०८७ जना, सोरु गाउँपालिकामा ८,१९८ जना र खत्याड गाउँपालिकामा ८,१६४ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने छ ।

विशेष गरी सरसफाइको कमी र झिँगाका कारण फैलिने टाइफाइडका विरामी संख्या पछिल्लो समयमा बढ्दै गएपछि सरकारले अभियान नै चलाएर खोप दिन लागेको हो । सरोकारवाला सबैले अभियान सफल बनाउन लागिपर्नुपर्ने र खोप लगाउन कोही नछुटोस् भनेर राम्रा कदमहरू चल्नुपर्ने प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।

यो खोप शतप्रतिशत सफल रहेको र प्रति लाखमा १ जनालाई सामान्य असर देखिनसक्ने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !