चितवनः आगामी बैशाख ३१ गते हुने निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्बाचन कार्यालय चितवनका अनुसार ६ ठूला दल बाहेक २७ वटा साना दलहरुले निर्बाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन ।
कार्यालयका प्रमुख भिमशेन कार्कीका अनुसार आयोगले दलहरुलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि यही चैत ४ गते देखि ६ गते सम्म आबेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका २७ दलले आफ्नै निर्वाचन चिन्हका लागि बिबरण बुझाएका छन् ।
कार्कीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनता समाजबादी पार्टी, लोकतान्त्रीक समाजबादी पार्टी (लोसपा)ले जिल्लामा बिबरण बुझाउनु नपर्ने भएकाले २७ दलले चिन्हका लागि बिबरण बुझाएका हुन । उनीहरुको बिबरण निर्वाचन आयोगमा पठाईएको उहाँले बताउनुभयो ।
स्थानिय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न आयोगमा आग्रह गरेको छ । उहाँका अनुसार वि.सं. २०७४ सालमा भएको स्थानिय निर्वाचनका क्रममा जिल्लामा १ सय ६१ मतदान स्थल र ३ सय ७६ मतदान केन्द्र रहेका थिए । अहिले मतदान केन्द्र थप गरि ४ सय ६१ पु¥याउन लागिएको उहाँले बताउनुभयो । जस अनुसार भरतपुर महानगरपालिकामा २ सय ५, रत्ननगर नगरपालिकामा ६१, खैरहनी नगरपालिकामा ५७, कालिका नगरपालिकामा ३७, राप्ती नगरपालिकामा ४७, माडी नगरपालिकामा ३२ र इच्छाकामना गाउँपालिकामा २२ मतदान केन्द्र बनाउन कार्यालयले आयोगमा सिफारिस गरेको छ ।
यही बैशाखमा हुन लागेको स्थानिय निर्वाचनमा जिल्लामा ३ लाख ९८ हजार ७ सय ७१ जना मतदाता रहेका छन् । अझै केही थपघट हुन सक्ने कार्कीले बताउनुभयो । वि. सं. २०७४ सालको स्थानिय तहको निर्वाचनमा जिल्लामा ३ लाख १३ हजार ३ जना मतदाता रहेका थिए । गत स्थानिय तहको निर्वाचनमा भन्दा अहिले मतदाताको संख्या बढेकाले मतदान केन्द्र थप गर्न लागिएको हो । निर्वाचनको तयारी स्वरुप कार्यालयले चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय संगै निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गर्ने तयारी गरेको छ । सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय रहने उहाँले बताउनुभयो । निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्ने क्रम समेत सुरु गरेको छ । एउटा मतदान केन्द्रमा ७ देखि ८ जनाको दरले कर्मचारी परिचालन गरिने छ ।






