चितवनः ‘स्वास्थ्य नगरी’ चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामी मध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन् । जिल्ला भित्र र बाहिरी जिल्लाबाट ठूलो संख्यामा बिरामी रिफर भएर आउने गरेका हुन् । आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकहरु पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको संख्या बढ्दै गएको छ ।
चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्साल अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशत अन्य अस्पतालबाट रिफर भएर आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार एक दर्जन विशिष्टकृत सेवा सहित सबै खाले रोगको उपचार हुने भएपछि अन्य अस्पतालबाट रिफर भएर आउने गरेको उहाँको भनाई छ । देशैभर र भारतबाट समेत बिरामी आउने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अहिले अस्पतालमा दैनिक १ हजार २०० हाराहारी बिरामी बहिरंग सेवामा आउँछन्, ती मध्ये आधा अन्यत्रबाट रिफर भएर आएका हुन् ।
अस्पतालमा ४५ प्रतिशत हाराहारी बिरामी चितवनका आउँछन् भने बाँकी अन्य जिल्लाका हुन् । यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतदेखि उपचारका लागि आउने बिरामी समेत मेडिकल कलेजमा आउने गरेको लम्सालको भनाई छ । स्वास्थ्य बीमाको पहिलो विन्दु सरकारी अस्पताल हुने भएकाले त्यहाँबाट थप उपचारका लागि रिफर भएर आउनेहरुको संख्या ठूलो हुने गरेको लम्सालले जानकारी दिनुभयो । राजधानी बाहिर अन्यत्र नभएका सेवा आफ्नो मेडिकल कलेजमा हुँदा रिफरल बिरामी बढी आउने गरेको लम्साल बताउनुहुन्छ ।
अस्पतालमा १८ जनाभन्दा बढी डिएम÷एमसिएच गरेका विशेषज्ञ चिकित्सक रहेको उहाँको भनाई छ । अस्पतालमा पेडियाटिक सर्जरीमा एमसिएच गरेका चिकित्सक रहेको भन्दै उहाँले उपत्यका बाहिर यो सेवा अन्यत्र नरहेको दावी गर्नुभयो । इन्टरभेन्सन रेडियोलोजी सेवा अस्पतालमा रहेका छन् । रेडियोलोजीका माध्यमबाट रोग पहिचान र उपचार गर्ने उहाँले जानकारी दिनुभयो ।
यस्तै न्यूक्लियर मेडिसिन, कलेजो र कपाल प्रत्यारोपण, थोरासिक एण्ड भास्कुलर सर्जरी, न्यूरो सर्जरी, मुटु, बाँझोपन निवारण र कृत्रिम गर्भाधान, ट्रमा सेन्टर, म्याग्जिलोफेसियर सर्जरी, ग्यास्ट्रो जस्ता डिएम र एमसिएच चिकित्सकसहितको सेवा अस्पतालमा रहेको छ । क्रिटिकल केयरमा नेपालमै अंग्रणी रहेको लम्सालको दावी छ । उहाँले भन्नुभयो “यो सेवाका लागि देशैभरबाट बिरामी आउने गरेका छन् ।” कोभिडको महामारीसँगै यहाँको क्रिटिकल केयरको सेवा देशैभर परिचित रहेको उहाँको भनाई छ ।
अस्पतालमा विभागहरु मजबुद भएसँगै चिकित्सा शिक्षा आयोगले डिएम र एमसिएचमा चार वटा कोटा समेत दिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेका अनुसार ग्यास्ट्रो इन्टरलोजि मेडिसिन, जिआई सर्जरी, क्रिटिकल केयर मेडिकल र कार्डियोलोजीमा अध्ययन अध्यापन हुने गरेको छ । उहाँले भन्नुभयो “उपचार सेवासँगै अध्ययनको सुविधा भएका कारण सेवा झनै प्रभावकारी छ ।” अस्पतालमा २५० भन्दा बढी विशेषज्ञ चिकित्सक रहेको भन्दै उहाँले यहाँ आएपछि सबै खाले उपचार हुुने भएकाले धेरै रिफर भएर आउने गरेको बताउनुभयो ।
एकै व्यक्तिलाई फरक फरक समस्या हुँदा अन्यत्र धाउन नपर्ने भएकाले मेडिकल कलेज रिफरलको रुपमा विकास हुँदै गएको न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले मेडिकल कलेजमा जनशक्ति र उपकरणमा ठूलो लगानी गरेका छौं, त्यसको प्रतिफल देखिन थालेको छ ।”
यस कलेजमा त्रिविबाट सम्बन्धत प्राप्त आठ वटा स्नातक कार्यक्रम, स्नातकोत्तरमा २१ वटा र सिटिईभिटीका चार वटा कार्यक्रम रहेका छन् । सबै विभागमा गरेर १ हजार ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।






