मिलन तिमिल्सिना
चकचके, उरन्ठेउला हामी केटाकेटी खान पनि राम्ररी नजान्ने । अघिल्तिर थाल राखेर भात खान बस्यो, उठ्ने बेलासम्म एकदर्ुइ गाँस भात लुगादेखि भूइँसम्म भैसक्ने । सँगै भात खान बसेका हजुरबाले सधैं सम्झाउनुहुन्थ्यो,’यसरी कहिल्यै भात पोख्नुहुन्न । अन्न पोख्यो भने भगवानले सराप दिन्छन् ।’ कुनै
पनि कुरा खेर फाल्नुहुन्न, जतन र फारो गर्नुपर्छ भन्ने हजुरबाले सिकाउनुभएको शिक्षा कहिल्यै बिर्सन नसकिने । स्कूलमा सरमिसले भन्दा बेग्लै खालको जीवनपयोगी शिक्षा दिनुहुन्थ्यो हजुरबाले । आँगनमा अन्नका दाना देख्ने बित्तिकै टिपेर राख्नुहुन्थ्यो ।
भर्ुइंमा फालिएको प्लाष्टिकको बोराबाट गजबको नाम्लो र दाम्लो बनाउनुहुन्थ्यो हजुरबाले । बोराबाट एक एकवटा त्यान्द्रा झिकेर मुठा बनाउन दर्ुइचार दिन लाग्थ्यो । काम नलागेर फालिएको बोराबाट हजुरबाले सधैं काम दिने नाम्लो र दाम्लो बनाएको देख्दा छरछिमेकी समेत दंग पर्थे । बाबियो र पाटबाट डोरी, नाम्लो, दाम्लो बनाउन त हजुरबा पहिलेदेखि नै च्याम्पियन । बाबियोका सानो त्यान्द्रा समेत उहाँले खेर जान दिनुहुन्नथ्यो । काप्रोको लौरोबाट उसैगरी पाट निकाल्नुहुन्थ्यो । बाँसका चोया, मकैका खोया, आँपका कोया हरेकलाई उपयोगमा ल्याउन सक्ने अचम्मको खुवी थियो उहाँमा । हजुरबाको सीपबारे गाउँभरी चर्चा हुन्थ्यो । बाँसबाट बन्ने प्रायः सबै सामान उहाँलाई बनाउन आउँथ्यो । बुढीआँपगैरामा बसेको बेला बारीभरी बाँसको घारी । त्यसैले उहाँलाई सबैले बाँसबोटे बनेर बोलाउँथे । अहिले पनि हामी पुरानो पुस्तामाझ उहाँकै नामबाट चिनिन्छौं, बाँसबोटेको नाती भनेर ।
लौरो बनाउन पनि हजुरबा सिपालु हुनुहुन्थ्यो । गोठालो जाँदा काठ ताछेर, तिखारेर राम्राराम्रा लौरा बनाउनुहुन्थ्यो । हजुरबा मलाई पनि लौरो भनेर हामी उहाँलाई पिर्नु पिथ्र्यौं । हाम्रो जिद्धीसँग झुकेर हजुरबा हाम्लाई सुहाउने हामीजस्तै सानो लौरो बनाइदिनुहुन्थ्यो । हजुरआँबै पनि उस्तै मेहनती र काममा सिपालु हुनुहुन्थ्यो । दिनभरी भकारोको डिलमा बसेर घँस्यौटा केलाएर दाउरा बनाउनुहुन्थ्यो हजुरआँबैले । भकारोको डिलमा रायो, खर्ुसानी लगाउनुहुन्थ्यो । थोरै जमीन पनि खाली राख्नु हुँदैन भन्ने हजुरबा र आँबैको मान्यता । त्यसैले त त्योबेला हामीलाई नूनबाहेक अरु कुनै कुरा पनि बेसाउन पर्दैनथ्यो ।
बारीमा रुखको घाँस काट्न जाँदा पनि भुँईमा झरेका पात टिपटाप पारेर ल्याउने बानी हजुरबाबाटै हामीले सिक्यौं । बार बार्न पनि औधी खप्पिस हाम्रा हजुरबा । हिउँदमा गाईवस्तु छाडा हुने । घर र करेसाबारीमा गाईवस्तु पस्लान् भनेर बार बाँध्नुपर्ने । गल्लीको लागि बयरको काँडा, बारीमा चाहिं अरु नै हाँगाबिंगा ल्याएर बार बार्नुहुन्थ्यो । तल खोलाको बगरबाट काँडा बोकेर आउँदा हजुरबालाई निकै सकस भएको जस्तो लाग्थ्यो । ढाडमा नबिझोस् भनेर यसो स्याउला त राख्नुहुन्थ्यो । तर भारी बिसाएपछि मात्रै पत्तो पाउनुहुन्थ्यो, काँडाले जताततै घोचर रगतपच्छे भएको चाहिँ ।
एकदिन म बिरामी भएँ । बा मलेखु बस्नुहुन्थ्यो । गाउँबाट मलेखुसम्म उपचारको लागि हजुरबाले नै लैजानुभयो । म हिंड्न नसक्ने गरी नै बिरामी भएको थिएँ । बिचरा हजुरबाले बुङचुङसम्म डेढघण्टाको ओरालो मलाई बर्ुइमा बोकेर पुर्याउनुभयो र त्यहाँबाट गाडी चढाएर लैजानुभयो । काँडा र अफ्ठेरा भारी बोकेको हजुरबाको ढाडमा ज्यान राख्दा आफूलाई पनि सकस भएजस्तो । कति कडा ढाड अनि भारी बोक्दाबोक्दै सारो भएको ज्यान ।
हजुरबाले परालघाँस बोकेको देख्दा आफूलाई पनि बोक्न रहर लाग्ने । एकदिन हजुरबाको पछि लागेर कसेनीखेत गएको बेला म पनि पराल बोक्छु भनेर हजुरबालाई भनें । ‘कति मुठा बोक्छस् र -‘ हजुरबाले सोध्नुभयो । ‘२० मुठा’ भनेपछि हजुरबा हाँस्नुभयो र पाँच मुठाको भारीमा परालकै नाम्लो बनाएर बोकाइदिनुभयो । १० पाइला उक्लेपछि म ठस्ठस् कन्न थालें । ‘खाइदेऊ मोरा’ भनेर हजुरबाले आफ्नो भारीमाथि मेरो भारी पनि खाप्नुभयो । उहाँको पिठ्युँमा पहिल्यै ठूलो भारी थियो । मेरोसमेत खापेपछि उहाँलाई झन् गह्रौं भयो । तैपनि कतै नबिर्साई खरखरेको उकालो हुँदै घरसम्म भारी पु्र्याउनुभयो । भारी बिसाएर भात खाने बेला उहाँले आफ्नो भागबाट समेत मलाई घिऊ हालिदिनुभयो । भारी थप्ने हजुरबा , घिऊ थप्ने म । यति धेरै माया गर्ने हजुरबालाई आफूले चाहिं सधैं दुःख मात्रै दिइयो । सुख कहिल्यै दिन सकिएन ।
हरेक कुराको जतन गर्न, खानेकुरा खेर नफाल्न, अरुको बिँग्याई नगर्न हजुरबाले सधैं सचेत गराउनुहुन्थ्यो । बुढो भएर ज्यान कुप्रो पर्दासम्म हजुरबाले काम गर्न छाड्नुभएन । नसकेर घरमै बस्दा पनि लर्याङ्तर्याङ् केही काम गरिरहने । हामी जवान छँदा त्यति बलियो थिएनौं, हजुरबा डाँडामाथिको घामजस्तो हुँदा अहिलेको हामीभन्दा बलियो हुनुहुन्थ्यो ।
‘तिमीहरुको जस्तो औषधि खाएको ज्यान हो र – हामीले त आफैंले पालेको गाईभैंसीको दूध र आफ्नै हातले फलाएको अन्न खाएर बनाएको ज्यान ।फुर्तिकासाथ हजुरबा भन्नुहुन्थ्यो । हो सबै कुरामा जतन र फारो गर्ने मेरो बुढो हजुरबा हामी नाथे ठिटा भन्दा कति जान्ने कति जान्ने । कति हो कति जुक्तिबुद्धि र बल भएको मान्छे ।
लेखक उज्यालो अनलाईन का सम्पादक हुनुहुन्छ






