काठमाडौँ,२० भदौ । नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, विभिन्न मोर्चा संगठन र विभागको जिम्मेवारी बाँडफाँड गरेको हो।
एकीकृत समाजवादीले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला तोकिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोक्न बाँकी रहेको छ ।
त्यस्तै, सम्पर्क विशेष समितिको इन्चार्जको जिम्मेवारी विजय गुरुङलाई दिइएको छ भने उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी विश्वनाथ प्याकुरेललाई दिइएको छ । साथै मोर्चा इन्चार्जमा डा। विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साह तोकिएको छ ।
एकीकृत समाजवादीले डा। बेदुराम भुसालको संयोजकत्वमा ६ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरेको छ । सचिवालयमा भुसालसहित प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् । त्यस्तै, पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक दस्तावेज र विधान दस्तावेज लेखनका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा समिति गठन गरिएको छ।






