विराटनगर,: नेकपा एमालेमा बिभाजन भएसँगै प्रदेश १ को सरकार संकटमा परेको छ। प्रदेश १ मा शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ।
एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो। प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको आरोप प्रतिपक्षी दलहरूले लगाउँदै आएका छन्।
प्रदेशसभा १ मा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार ढल्ने निश्चित भएपछि केही दिन भए पनि सत्तामा रहन र कागजात मिलाएर भ्रष्टाचार ढाकछोप गर्न सरकारले हतारहतार प्रदेशसभाको अधिवेशन अन्त्य गरेको बताएका छन्। उनले प्रदेश १ मा दसैंअघि नै नयाँ सरकार गठन हुने ठोकुवा गरेका छन्।
एमालेका नेताहरू भने तत्काल सरकार ढल्ने अवस्था नरहेको दाबी गर्छन्। प्रदेशसभा १ एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले तत्काल सरकार ढल्ने अवस्था नरहेको बताए। एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा प्रदेश १ का पाँचजना सांसद पनि जाने अवस्था नरहेकाले तत्कालै प्रदेश १ को सरकार ढल्ने अवस्था नरहेको उनको भनाइ छ। तर, एमालेका पाँचजना मात्रै सांसद नेकपा एकीकृत समाजवादीतर्फ लागे भने पनि सरकार संकटमा पर्ने उनले बताए। यतिबेला धेरै सांसदलाई आफ्नो पक्षमा पार्न एमाले र नेकपा एकीकृत समाजवादीकाका नेताहरू सक्रिय छन्।
एमालेका पाँचजनाभन्दा बढी सांसद नेकपा एकीकृत समाजवादीतर्फ लागे राई नेतृत्वको सरकार ढल्ने भएकाले सरकार पक्षका नेताहरू सबै सांसदलाई आफ्नै पक्षमा राख्न तल्लीन छन्।






