काठमाडौंः निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ कार्यतालिकाबारे संस्थापनइतर समूहका नेताहरुसँग अनौपचारिक छलफल सुरु गर्नुभएको छ ।

भदौ १६–१९ मै महाधिवेशन हुनुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वप्रति बढी आक्रामक देखिएपछि सभापति देउवाले संस्थापनइतर समूहका प्रभावशाली नेताहरुसँग छलफल गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले संस्थापनइतर समूहका नेताहरु डा.शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगनकुमार थापासँग बालुवाटारमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्नुभएको हो । बालुवाटार स्रोतका अनुसार देउवाले निर्धारित मितिमा महाधिवेशन सम्भव नभएकाले नयाँ कार्यतालिकाबारे नेताहरुसँग सल्लाह गर्नुभएको थियो ।

छलफलमा केन्द्रीय सदस्य रिजालले पार्टीमा समझदारी जुटाएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउन देउवालाई आग्रह गनुएइको थियो । ‘केन्द्रीय समिति बैठकअघि नै समझदारीमै कार्यतालिका ल्याउँदा राम्रो हुन्छ,’ नेता रिजालको प्रस्ताव थियो, ‘नत्र केन्द्रीय समितिमा अनावश्यक विवाद हुन्छ । त्यसले राम्रो सन्देश दिंदैन ।’

देउवाले साउन २८ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिकामा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवाले सहमतिमै कार्यतालिका ल्याउने जवाफ दिएका थिए । ‘म पनि सहमतिमै कार्यतालिका ल्याउने पक्षमा छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भन्नुभयो, ‘महाधिवेशनबारे पार्टीमा समझदारी होस् भन्ने चाहन्छु । यसका लागि तपाईंहरुले सकारात्मक भूमिका खेलिदिनुस् ।’

देउवाले सरकार सञ्चालनका बारेमा आवश्यक सुझाव दिन पनि नेताहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !