चितवनः यहाँका बिद्यालयहरु नयाँ शैक्षिक सत्रका लागि अघिल्लो वर्षको नतिजा तयारी गर्दै गर्दा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक आइसकेको छ । असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारीमा बिद्यालयहरु रहेका छन् ।
जनक शिक्षा सामाग्री केन्द्र भरतपुरका निमित्त प्रमुख केदारराज बिष्टका अनुसार अहिले यस केन्द्रमा कक्षा ४ देखि ११ सम्मका लागि आबश्यक पाठ्यपुस्तकहरु आइसकेका छन् । उहाँका अनुसार केन्द्रमा अहिले १४ लाख ३५ हजार ९ सय १८ थान पुस्तक आई सकेको छ ।
उहाँले भन्नुभयो “कक्षा ६ मा तीन वटा बिषयमा पाठ्यपुस्तक परिवर्तन भएकाले आउन बाँकी रहेको छ । ती पुस्तकहरु पनि जेठ २३ गते आइतबार सम्म आई पुग्ने छन् ।”पाठ्य पुस्तक परिवर्तन भएका सामाजिक, बिज्ञान र स्वास्थ्य बिषयका पुस्तक आउने क्रममा रहेको उहाँले बताउनुभयो । तीन बिषयका ७५ हजार कितब आउन बाँकी रहेको हो । यस केन्द्रले चितवन सहित वारा, पर्सा, रौतहट, मकवानपुर, वर्दघाट – सुस्ता पूर्व नवलपरासी, वर्दघाट–सुस्ता पश्चिम नवलपरासी, तनहुँ र गोरखा जिल्लामा पुस्तक उपलव्ध गराउँदै आएको छ ।
ती जिल्लाका ३४ जना व्यवसायीले आफ्नो व्यवसायलाई पाठ्यक्रम बिकास केन्द्रमा सुचिकृत गरि सकेको र अन्य पनि सुचिकृत र नविकरण हुन आउने क्रम जारी रहेको विष्टले बताउनुभयो । कोरोना कहरका कारण मुलुकको अवस्था सामान्य बनेर पठनपाठन सुचारु भएमा किताबको अभाव नहुने उहाँको भनाइ छ ।
बिकास केन्द्रले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छपाइ र वितरणका लागि निजी क्षेत्रलाई जिम्मा दिएकाले केन्द्रले बितरण नगर्ने उहाँले जानकारी दिनुभयो । आगामी शैक्षिक सत्रबाट कक्षा १२ को पुस्तक पनि जनक शिक्षाले नै बितरण गर्ने छ । अहिले केन्द्रको भरतपुर शाखामा रु १२ करोड ७९ लाख ९४ हजार ४ सय ९४ का पुस्तकहरु आइसकेका छन् ।
जिल्लामा हाल कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीको कूल संख्या १ लाख ५० हजार भन्दा बढी रहेको छ । जस मध्ये सामुदायीक बिद्यालयमा अध्ययन गर्ने ७५ हजार ३ सय ३९ जना बिद्यार्थीका लागि यस केन्द्रले पुस्तक पु¥याउने छ भने संस्थागत बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई निजी क्षेत्रले पुस्तक उपलव्ध गराउँदै आएको छ ।
केन्द्रले आईसकेका पुस्तक जेठ २४ गते देखि बितरणको प्रकृया सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !