विराटनगर, : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललेपार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीविरुद्ध समानान्तर कमिटी बनाउन जुटेको बताएका छन् ।
नेता नेपालले ओलीले पार्टीको विधान मिचेर कारबाही चलाएकाले त्यसको प्रतिरोधमा समानान्तर कमिटी गठन गर्न आफु जुटेको बताएका हुन् । उनले ओलीको विधान विपरितको काममा साथ दिने दिनेहरू दास भएको समेत दाबी गरेका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओलीले आफ्नो भक्तहरुलाई मात्रै पार्टीमा प्रश्रय दिएको आरोप समेत लगाए।
सर्वोच्च अदालतले पार्टी पुरानै अवस्था ब्युँताइदिएपनि अध्यक्ष ओलीले विधान विपरित आफुहरुसहितका नेताहरुलाई कारबाही चलाएको बताए । उनले अहिले आफूहरू सबैलाई मिलाउने काममा लागि रहेको पनि दाबी गरे ।
ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको उनको ठहर छ । ओलीको दास हुन नसक्नेहरू सङ्गठित हुँदै गएको उनको भनाई छ ।
‘अदालतको फैसालले पार्टीलाई पुरानो अवस्था फर्काइदिएको छ’ नेता नेपालले भने,‘ओलीले मुख हेरेर कारबाही चलाएका छन्।’यो कार्य विधान विपरित छ।’ओलीको विधानविपरीत काम गर्नेलाई पनि साथ, समर्थन दिने भनेका दास हुन् । हामी दास होइनौं । हामी केपी ओलीको मुख हेरेर आन्दोलनमा जुटेका होइनौं।’
उनले ओली अहिले पार्टी भित्रै अल्पमतमा परेको पनि जिकिर गरे ।
नेता नेपालले पार्टीलाई एकताबद्ध गर्ने हो भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्कनु पर्ने बताए ।शुक्रबार एमालेको समानान्तर मोरङ जिल्ला समिति गठन गर्न नेता नेपालले विराटनगर आएका हुन्।






