चितवनः नेपालका लागि पाकिस्तानी राजदुत सैयद हैदर शाहले भरतपुर आँखा अस्पताललाई विगतमा दिईदै आएको सहयोग निरन्तर रहने बताउनु भएको छ । उहाँले आज अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा सहयोग जारी रहने बताउनु भएको हो ।
सो अवसरमा राजदुत शाहले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “नयाँ भवनको विस्तृत विवरण सहितको प्रस्ताव पठाउनुहोस्, अध्ययनपछि के सहयोग गर्न सकिन्छ, हामी गर्छाै ।” आँखा उपचार जस्तो महत्वपूर्ण सेवा अस्पतालले उपलब्ध गराउँदै आएकोमा उहाँले प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योती संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, जिल्ला सभापति कृष्णराज धरेल, अस्पतालका प्रमुख मेडिकल निर्देशक प्रा.डा.रघुनन्दन बेन्जु, अस्पतालका व्यवस्थापक दयाशंकर चौधरी लगायतले अस्पतालले हालसम्म गरेका कार्य र आगामी दिनका योजनाबारे बोल्नु भएको थियो । सो अवसरमा अस्पतालका डा. रञ्जित साहले अस्पतालको अवस्थाका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । राजदुत शाहले अस्पतालका विभिन्न विभागको निरीक्षण समेत गर्नुभएको थियो ।
पाकिस्तानमा मुख्य कार्यालय रहेको बिसिसिआई बैंकले भरतपुर आँखा अस्पततालको स्थापनाको समयमा मुख्य भवन निर्माण निर्माण गर्न तत्कालिन समयमा रु.८४ लाख रुपैयाँ सहयोग गरेको थियो । विभिन्न समयमा उपकरणहरु समेत सहयोग गर्दै आएको छ ।
पाकिस्तानी दुतावासले अस्पताललाई प्रत्येक वर्षजसो आर्थिक सहयोग गर्दै आएको छ । अस्पतालको अप्रेसन थिएटर बनाउन दुतावासले रु.७२ लाख रुपैयाँ सहयोग दिएको छ । उक्त रकम सुरक्षित रहेको अस्पतालका अध्यक्ष धरेलले जानकारी दिनुभयो । यस्तै चम्मा पसल निर्माण गर्न ३६ लाख र फेको मेसिन लगायतका उपकरण पनि दुतावासबाट सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म विभिन्न समयमा गरेर पाकिस्तानी दुतावासबाट रु.२ करोडभन्दा बढी सहयोग प्राप्त भईसकेको छ ।
अस्पतालले आर्थिक वर्ष सन् २०१८÷१९ मा २ लाख ७ हजार ६७६ जनालाई सेवा दिएको थियो भने सन् २०१९÷०२० मा १ लाख ६३ हजार १४८ बिरामीलाई सेवा दिएको छ । अस्पतालले अस्पताल, अस्पतालद्वारा सञ्चालित आँखा सेवा केन्द्र र विभिन्न ठाउँमा शिविर सञ्चालनन गरी आँखाको उपचार गर्दै आएको छ ।






