चितवन: चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काईएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालु आर्थिक वर्षको साउन यता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो । ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उहाँले जानकारी दिनुभयो ।

यस आर्थिक वर्षमा एक सय वटा गोही नदीमा छोड्ने योजना रहेको छ । अधिकारीका अनुसार अब छोड्ने गोहीलाई लोथर नजिकै राप्ती नदीमा छोडिने छ । यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो । विगतमा राप्तीसँगै नारायणी, कालिगण्डकी, कोशी, बबई, कर्णाली लगायतका नदीहरुमा समेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ । ती नदीहरुमा गोही संरक्षण हुन नसकेपछि नछोडिएको हो ।

निकुञ्जको प्रजनन् केन्द्रमा हाल ५ सय ८२ वटा गोही रहेका छन् । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई संकलन गरेर प्रजनन् केन्द्रमा ल्याई कोरल्ने र हुर्काउने गरिन्छ । तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !