चितवनः कोरोना संक्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भिडमभिड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका हुन् ।

देवघाट क्षेत्र विकास समितिले निरन्तर सूचना जारी गरेर बढीमा ३० जना मात्रै मलामी आईदिन आग्रह गरिरहेको भए पनि बेवास्था गर्दै आफू र स्थानीयलाई जोखिममा पारेर लामी आउने गरेका हुन् । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शनिबार एकै दिन २० वटा शव अन्त्येष्टिका लागि ल्याईएको थियो । उहाँले भन्नुभयो “दिउँसो २ बजेतिर शव लैजाँदै गर्दा किनारमा ट्राफिक जाम समेत भएको थियो ।”

मलामीको संख्या अत्याधिक बढेपछि स्वयं सहभागी र स्थानीयसहित अन्य पनि त्रसित भएको उहाँको भनाई छ । पौडेलले थप्नुभयो “हामीले निरन्तर सूचना जारी गरेर कम मलामी ल्याउँन आग्रह गरिरहेका छौं । तर कसैले पनि टेरेको देखिएन ।”मलामी दुःखमा सहभागी हुन जाने मानवीय संवेदनासँग जोडिएको विषय भएकाले रोकतोक र कारवाही व्यवहारिक नहुने भन्दै उहाँले स्वयं मलामीमा जानेहरुले बुझिदिनु पर्ने बताउनुभयो ।

देवघाटमा बृद्धबृद्धा, अशक्त, अपाङ् जस्ता कोरोनाको अति जोखिममा परेका व्यक्तिहरुको बसोबास रहेको क्षेत्र भएकाले कसभर कमभन्दा कम मलामी आएर सहयोग गरिदिन आग्रह गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । उहाँका अनुसार दाहसंस्कार क्षेत्रमा निरन्तर माईकिङ गरिएको छ । सामाजिक सञ्जाल लगायतका माध्यमको प्रयोग गरी सूचना समेत जारी भईरहेको छ । धेरै मलामी जाने र उनीहरु देवघाटको पुल, बृद्धाश्रम क्षेत्र, मठमन्दिर, पार्कमा घुमफिर गर्ने हुँदा जोखिम बढेको उहाँको भनाई छ ।

घिमिरेले भन्नुभयो “यो मानवीय संवेदनासँग जोडिएको विषय भएकाले कानुनी कारवाही भन्दा पनि स्वयंले विवेक पु¥याउनु पर्ने विषय हो ।” निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा पटकपटक सूचना जारी गरेर अनुरोध गर्ने काम भईरहेको बताउनुहुन्छ । प्रशासनले छिट्टै मलामी जानेकाहरुका लागि मात्रै नयाँ नियम लागू गराउने उहाँले जानकारी दिनुभयो । अन्तिम श्रद्धाञ्जलीका लागि सहभागी हुन धेरैलाई चाहना हुने भए पनि अहिलेको परिस्थितिलाई बुझेर सहभागी भईदिनु पर्ने शर्माको भनाई छ ।

देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाहरुबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ । देवघाटमा अन्त्येष्टि गरिएमा मोक्षप्राप्ती हुने जनविश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस !