चितवनः यहाँको खैरहनी नगरपालिकाले नगरभित्रका कृषकलाई लक्षीत गरी बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत खाद्यान्न बाली प्रवद्र्धनका लागि कृषकलाई धानको बीउमा अनुदान दिन लागेको हो ।

नगरपालिकाकी कृषि अधिकृत सिर्जना श्रेष्ठले अनुदान प्राप्त गर्न इच्छुक कृषक तथा कृषि उद्यमीलाई आगामी वैशाख ७ गतेभित्र निवेदन दिन आह्वान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मोटो र मसिनो गरी विभिन्न सात जातका धानको बीउमा अनुदान दिन लागिएको हो । संघिय सरकारको बजेट मार्फत किसानलाई अनुदान दिन लागिएको हो । अनुदानमा उपलब्ध हुने धानका जातहरूमा सुख्खा धान–२, सावित्री, हर्दिनाथ–५, हर्दिनाथ–६, सावा मन्सुली सब–१, रामधान र चैते–५ रहेका छन् ।

नगरपालिकाले प्रतिकठ्ठा दुई किलोका दरले एक जना कृषकलाई अधिकतम १०० किलोसम्म बीउ उपलब्ध गराउने नीति लिएको छ । अनुदान लिन चाहने कृषकले नागरिकताको प्रतिलिपि र चालु आर्थिक वर्ष २०८२÷८३ को एकीकृत सम्पत्ति कर तिरेको रसिदसहित स्वयं कृषि शाखामा उपस्थित भई निवेदन दिनुपर्नेछ । जग्गा भाडामा लिएर खेती गर्ने कृषकको हकमा जग्गा बहाल सम्झौता, बहाल कर तिरेको रसिद र जग्गाधनीको नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको कृषि शाखाले जनाएको छ ।

यसअघि नगरपालिकाले चैते धानको बीउमा पनि ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । यस पालिकामा चैते धान २ हजार ५१ हेक्टर क्षेत्रफलमा लगाईन्छ भने बर्खे धान ३ हजार ५५८ हेक्टर क्षेत्रफलमा लगाईन्छ । धानको बिउमा अनुदानका लागि रु १० लाख ७५ हजार वजेट रहेको उहाँले जानकारी दिनुभयो । पालिकाले कृषि चुन र मल लगायतका सामग्रीमा समेत कृषकलाई अनुदान दिँदै आएको छ । कृषिमा आत्मनिर्भर बनाउन र उन्नत बीउको प्रयोगमार्फत उत्पादकत्व वृद्धि गर्न यस्ता कार्यक्रम ल्याइएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !