चितवनः सुनसरीबाट आउनु भएका बाबुराम खत्री दुग्धजन्य वस्तु उत्पादन कसरी र कुन प्रबिधिबाट गर्न सकिन्छ ? भन्दै बुझ्दै हुनुहुन्थ्यो । उहाँले यहाँ सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डेरी एक्स्पोमा रहेका नयाँनयाँ प्रबिधिको बारेमा बुझ्दै हुनुहुन्थ्यो ।

सुनसरीको सगरमाथा डेरी बिशिष्टिकृत सहकारीका अध्यक्ष समेत रहनु भएका उहाँ यहाँ राखिएका प्रबिधि हेरेर नेपालमा कहाँ पाइन्छ र नेपालमा नपाईने भए कसरी ल्याउन सकिन्छ भन्ने कुरा बुझ्नका लागि आएको बताउनुभयो । यही प्रबिधि हेर्न भारत लगायका देशहरुमा जानुपर्ने बाध्यता चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले हटाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “यहाँ राखिएका प्रबिधिको बारेमा बुझ्न बिदेश जानु पर्ने बाध्यता बिगतको वर्षबाट हराएको छ ।” यसले दुग्ध उत्पादन गर्ने किसानहरुलाई उत्पादित दूधको परिकार कसरी बनाउन सकिन्छ र बजारीकरणमा कसरी लैजान सकिन्छ भन्ने बिषयमा ज्ञान लिन सहज भएको उहाँले बताउनुभयो ।

यस्तै पाल्पाको डुम्रे दुग्ध सहकारीबाट प्रदर्शनी हेर्न आउनु भएका यम बहादुर खत्री यहाँ राखिएका उपकरणहरु हेर्दा यी सामानको प्रयोग गरेर कसरी उत्पादन वढाउन सकिन्छ भन्ने कुरा बुझ्दै हुनुहुन्थ्यो । यस प्रदर्शनी किसानका लागि फाईदाजनक भएको बताउँदै उहाँले पशु पालनदेखि दूध उत्पादन र वितरणमा समेत सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

आफुहरुको सहकारीबाट सञ्चालक समितिका सदस्यहरु सबै यो प्रदर्शनी हेर्न आएको बताउँदै उहाँले यहाँका प्रबिधिलाई प्रयोग गर्ने र उत्पादन बढाउने कुरामा फलदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो “परमपरागत तवरले डेरी सञ्चालन गर्नुभन्दा प्रबिधिको प्रयोग गर्न सके लागत घट्ने र उत्पादन वढाउन प्रभावकारी बन्ने छ ।” प्रदर्शनी हेरिसकेपछि दूधबाट धेरै कुरा बनाएर यसलाई बजारीकरण गर्न सकिने रहेछ भन्ने ज्ञान पाएको उहाँको भनाई छ ।

चितवनका कृषक आनन्द न्यूरे यहाँका प्रबिधिको प्रयोग गरेर दूध उत्पादनसँगै दुग्धजन्य वस्तुको उत्पादन वढाउन सकिने भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले दूधको भुक्तानी नपाएका किसान र सहकारीहरुलाई यी प्रबिधिले राहात पु¥याउने बताउनुभयो ।

माघ २५ गतेबाट सञ्चालन गरिएको यस प्रर्दशनीमा देशका बिभिन्न जिल्लाबाट दुग्ध उत्पादन गर्ने किसानहरु यहाँ प्रबिधिको अवलोन गरेर ज्ञान लिनका लागि आउने क्रम जारी रहेको छ । बिदेशमा यी प्रबिधि हेर्न जानु पर्नेमा अहिले नेपालमानै हेर्न पाउँदा निकै उत्साहाका साथ किसानहरु आएको चितवन जिल्ला दुग्ध उत्पादक सहरकारी संघका अध्यक्ष किशोर वगालेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यहाँ भारतका प्रतिष्ठित कम्पनीहरुले समेत स्टल राखेर आफ्नो उत्पादनका बारेमा जानकारी दिईरहनु भएको छ । जसले गर्दा यहाँका किसानहरुलाई सहज भएको छ ।”

एक्स्पो माघ २९ गतेसम्म सञ्चालनमा आउने छ । यहाँ एक सयभन्दा बढी स्टलहरु रहेका छन् । ती स्टलहरुमा दुग्ध जन्य वस्तु उत्पादनका लागि आबश्यक प्रबिधि र उत्पादन कसरी गर्न सकिन्छ भन्ने बिषयमा ज्ञान दिइदै आईएको छ ।

प्रतिक्रिया दिनुहोस !