चितवनः यही माघ २५ गते देखि यहाँ हुन लागेको अन्तर्राष्ट्रिय डेरी एक्स्पोको मुख्य आकर्षकको रुपमा गाई प्रदर्शनी हुने भएको छ । डेरी उद्योगमा प्रबिधि अर्थतन्त्रमा समृद्धि भन्ने मुल नाराका साथ सुरु गर्न लागिएको एक्स्पोमा उन्नत जातको गाई प्रदर्शनी गर्न लागिएको हो ।
व्यवसायीक रुपमा राम्रो नश्ल भएको गाई कहाँ पाईन्छ र त्यसबाट हुने फाईदा के हो भन्ने बारेमा कृषकलाई जानकारी दिनका लागि गाई प्रदर्शनी गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेले जानकारी दिनुभयो । चितवन सहित अन्य जिल्लामा पालिएका राम्रो नस्ल भएका गाईहरु ल्याएर प्रदर्शनी गरिनुका साथै ती गाईको बारेमा समेत बुझाईने उहाँले बताउनुभयो ।
उहाँका अनुसार माघ २९ गते सम्म चल्ने डेरी एक्स्पोका अन्य आकर्षहरुमा मानब स्वास्थ्यमा दुग्धजन्य पदार्थको आबश्यकता र महत्व बिषयक बक्तृत्वकला प्रतियिोगिता, दुध उत्पादनको वर्तमान अबस्था वजारको समस्या र सामाधानका उपायहरु सम्बन्धि अन्तरक्रिया गरिने छ । जसमा पशु पालनमा देखिने रोग र उपचार बिधि, दुधको गुणस्तरीय उत्पादन र उत्पादकत्व बृद्धिको लागि प्रबिधिको प्रयोग, दुग्ध क्षेत्रको वर्तमान अबस्था र चुनौति तथा नीतिगत व्यवस्था र राज्य संगको अपेक्षा लगाएका बिषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
यस प्रदर्शनीमा नेपाल र भारत गरी १२० वटा दुग्ध उत्पादक कम्पनीहरु सहभागि हुने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईयो । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीमा डेरी उत्पादन, प्रकृया र बितरणमा नवीनतम प्रबिधि र अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीहरुलाई व्यवसायीक संञ्जामा जोड्न टेवा पुग्ने बगालेले बताउनुभयो ।
प्रदर्शनीमा ५० हजार दर्शकले अबलोकन गर्ने र रु ५ देखि ७ करोडको कारोबार हुन अनुमान गरिएको छ । जिल्लामा हाल ३ लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको छ । जस मध्ये १ लाख ५० हजार लिटर दुध जिल्ला बाहिर जाने गरेको छ । ११५ वटा दुग्ध उत्पादक सहकारीमा हाल ४० हजार बढी किसान आबद्ध रहेका छन् ।







