देवघाट, ३ मङ्सिर ः पवित्र तीर्थस्थल देवघाटधाममा बाला चतुर्दशीको अवसरमा बुधबार बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको छ । मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझदेखि नै दिवंगत पितृहरूको शान्तिको कामना गर्न स्नान, दियो सेलाउने र शतबीज छर्ने क्रममा भक्तजनहरूको आवत–जावत बढेको हो ।
कालीगण्डकी, त्रिशूलीनदीको संगमस्थल रहेको देवघाटमा बिहानैदेखि नै भीड बढेको र सुरक्षा व्यवस्था कडा पारिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । शतबीज छर्न नदी किनारमा पुगेका भक्तजनले दिवंगत आत्माको सद्गति र आगामी जन्मको कल्याणको कामना गरेका छन् ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष भक्तजनको उपस्थिति बाक्लो रहेको छ । गत वर्षझैँ यस वर्ष पनि करिब एक लाख भक्तजन आउने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “रातभर जाग्रम बस्ने र बिहानै आउने भक्तजनहरू हुनुहुन्छ । हामीले रातभर करिब २० हजार भक्तजनका लागि आश्रम तथा त्रिपालको व्यवस्था गराएका थियौं । साथै भक्तजनहरूले आफ्नै व्यवस्थापन गर्ने व्यवस्था पनि थियो । सुरक्षा र सहजताका लागि हाइमास्ट र सडक बत्ती व्यवस्थापन गरिएको छ ।” उहाँले स्थानीय प्रशासनले सडक तथा घाट क्षेत्रमा भीड व्यवस्थापनका लागि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको र भक्तजनहरुको लागि स्वास्थ्यकर्मी तथा स्वयंसेवक पनि तैनाथ गरिएको बताउनुभयो ।
निर्देशक बरालले सम्भावित दुर्घटना रोक्न राफ्टिङ बोटसहित अन्य बोटहरू पनि तयारी अवस्थामा राखिएको बताउनुभयो । नदी पार गर्नका लागि झोलुङ्गे पुलमा लाइन बनाएर मात्र यात्रा गर्न लगाइएको छ भने राफ्टिङ बोटको भाडा प्रतिव्यक्ति रु. ५० तोकिएको उहाँले जानकारी दिनुभयो ।
हरेक वर्ष झैँ, शतबीजका रूपमा जौँ, धान, तिल, तोरी, मास, केराउ, मुला, पिँडालु, सखरखण्ड आदि छर्ने परम्परा निरन्तर छ । देसभर तथा छिमेकी देशबाट समेत भक्तजनहरू देवघाट आउने गर्दछन् । चितवन, तनहुँ र नवलपुरको संगमस्थल देवघाटमा कालीगण्डकी र त्रिशुली नदीको दोभानको पवित्रता भएकाले भक्तजनहरू यहाँ स्नान र पूजा गरी धार्मिक कर्तव्य पूरा गर्छन् ।








