नारायणगढ

आगामी मंसिर १२ गतेदेखि रिलिज हुन लागेको एकता पौडेलको डेब्यु निर्देशन चलचित्र ‘हर्ष’ ले प्रदर्शन मिती नजिकिँदै जाँदा आफ्नो प्रमोसनलाई थप तिब्रता दिएको छ । आइतबार गैँडाकोटमा गरिएको पत्रकार सम्मेलनमा निर्माण टिमले फिल्मका रोचक पक्ष, कलाकारहरूको अनुभव तथा कथाबारे विस्तृत जानकारी सार्वजनिक ग¥यो ।

कार्यक्रममा निर्देशक पौडेलले ‘हर्ष’ पारिवारिक कथाबस्तुमा आधारित चलचित्र भएको बताउनुभयो । चलचित्रको छायांकन चितवन तथा आसपासका क्षेत्रमा गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “परिवार, सम्बन्ध र जीवनका मूल्यबारे गहिरो महसुस गराउने कथाबस्तु चलचित्रमा पाइनेछ । चलचित्र हेरेपछि परिवारको महत्व अझ प्रस्ट रूपमा बुझ्न सकिन्छ ।”

चलचित्रमा एक प्रमुख भूमिकामा देखिनुभएका वरिष्ठ कलाकार सन्तोष पन्तले ‘हर्ष’को कथाबस्तु निकै उत्कृष्ट बनेको बताउनुभयो । पारिवारिक खालको चलचित्र भएकाले यसको प्रचार–प्रसारमा सबैले साथ दिनुपर्नेमा उहाँले जोड दिनुभयो । पन्तले भन्नुभयो, “चितवनकी चेलीले निर्देशन गरेको चलचित्रलाई चितवनमै अझ बढी समर्थन मिल्नुपर्छ ।” महिला निर्देशकसँग पहिलोपटक काम गरेको अनुभव सुनाउँदै उहाँले निर्देशक पौडेलको निर्देशन शैली अत्यन्तै निखारिएको भएको प्रशंसा गर्नुभयो ।

सो अवसरमा कलाकार वर्षा राउतले हालका नेपाली चलचित्रहरूमा क्लाइम्याक्स भावनात्मक तथा रुवाउने खालका देखिएको उल्लेख गर्दै ‘हर्ष’ ले भने दर्शकलाई हर्षित र खुसीका आँसु ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो,, “ट्रेलरमा देखिएकोभन्दा धेरै गहिरो कथा चलचित्रमा छ ।”

राउतका अनुसार चलचित्रमा हर्ष, उल्लास, हाँसो, रमाइलो र पारिवारिक स्पर्श सबै समेटिएका छन् । उहाँले आफूले निकै आशा राखेको चलचित्र ‘हर्ष’ दर्शकलाई विशेष अनुभूति दिने विश्वास व्यक्त गर्नुभयो ।

निर्माता विकास पौडेलले ‘हर्ष’ सम्पूर्ण नेपाली परिवारको भावना र जीवनपाटोलाई समेटिएको चलचित्र भएको बताउनुभयो। मध्य–नेपाल, विशेषतः चितवनमा छायांकन गरिएको यस फिल्मले राष्ट्रिय स्तरमा सबै नेपाली परिवारको कथा उठान गरेको उहाँको भनाइ थियो । त्यसैगरी, नृत्य निर्देशक सुनिल क्षेत्रीले चलचित्रका गीतका केही दृश्यमा आफूले समेत अभिनय गरेको उल्लेख गर्दै दर्शकलाई ‘हर्ष’ अवश्य हेर्न आग्रह गर्नुभयो ।

चलचित्र ‘हर्ष’ मा पन्त र राउतका अलवा मुख्य रुपमा खगेन्द्र लामिछाने, नीर शाह, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायत कलाकारको अभिनय छ । चलचित्रमा आलोक शुक्लाको छायांकन, समीर–हिमाल, वसन्त सापकोटा तथा एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, तथा सुनिल क्षेत्री र निर्देशक पौडेलकै नृत्य निर्देशन रहेको छ ।

‘अष्टलक्ष्मी प्रोडक्सन्स्’ र ‘इ–प्राइम मूभिज’को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेख्नुभएको हो । चलचित्रका निर्माता प्रसन्न पौडेल, विकास पौडेल र हिक्मत चोखाल हुनुहुन्छ । निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुँदा चलचित्र ‘हर्ष’ मा रेग्मीसँग सम्बन्धित पारिवारिक धार र संवेदनशील कथनशैलीको प्रभाव पनि देखिने सो अवसरमा चर्चा भयो ।

प्रतिक्रिया दिनुहोस !