चितवनः यहाँका किसानले आलु खेतीका लागि नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् । पूर्वी चितवनको खैरहनीमा किसानले भारतबाट आलु लगाउने औजार ल्याएर रोप्न थालेका छन् । विगत लामो समयदेखि आलुखेती गर्दै आउनुभएका खैरहनी नगरपालिका–१० का कृष्ण अर्याल भारतबाट उपकरण झिकाएर आलु रोपेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “खर्च कम आउने, पानी लगाउन सजिलो हुने र आकर्षक देखिने भएकाले यो औजार मगाएका हाँै ।” सुरुआतमा यसको प्रभावकारिता हेर्ने भनेर ल्याइएको भए पनि अहिले आलुखेती गर्ने किसानले यही राख्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

आलुको बीउ रोप्न र खन्न यसले सहज हुने गरेको उहाँले जानकारी दिनुभयो । किसान अर्यालले हरेक वर्ष पाँच बिघा क्षेत्रफलमा आलुखेती गर्दै आउनुभएको छ । उहाँका अनुसार मजदुर लगाउँदा एक कठ्ठामा रु एक हजार खर्च आउने गर्दथ्यो । अहिले यो औजारले एक बिघा ६ कठ्ठा ९२६ कठ्ठा० रोप्नका लागि तीन घण्टा लागेको उहाँले सुनाउनुभयो ।

सो क्षेत्रफलमा आलु रोप्दा तीन घण्टाको रु ६ हजार ६ सयमा आलु रोपिएको उहाँले जानकारी दिनुभयो । खैरहनीमानै आलुखेती गर्दै आउनुभएका किरण आचार्य, मधु उप्रेती, दिपेन्द्र आचार्य, सीताराम अर्याल, रत्ननगरमा आलु खेती गर्दै आउनुभएको मधुर नेपाल लगायतका किसानले प्रविधिको प्रयोग गरेर आलु रोपिसक्नुभएको छ ।

किसान आर्यालले भन्नुभयो “उपकरण केही ढिला गरेर आउँदा सबै किसानले यसको प्रयोग गर्न पाएनन् । आगामी याममा सबैले यसको प्रयोग गर्ने छन् ।” यस उपकरणले चारवटा लाइनमा मल र बीउ एकै पटक खसाल्ने गरेको अर्का किसान सीतारमा अर्यालले जानकारी दिनुभयो ।

यसले एक पटकमा चार क्वीन्टल बीउ र एक क्वीन्टल मल बोकेर रोप्ने गर्दछ । यसका लागि ४० देखि ५० ग्रामका एकनासे आलुका बीउ हुँदा रोप्न सजिलो हुने उहाँले बताउनुभयो । ठूला गरामा यसको प्रयोग गर्दा छिटो हुने गरेको किसानले बताएका छन् । यो औजारको प्रयोगले आलुखेती गर्ने किसानलाई सहज बनाएको छ ।

अहिले आलु लगाउने मुख्य मौसमको रुपमा रहेको छ । केही समय अघि लगाएर उम्रने समयमा आएको बेमौसमी वर्षातका कारण यस क्षेत्रका किसानले क्षति व्यहोर्नु परेको छ । बेमौसमी वर्षात्का कारण यहाँ लगाइएको आलुको बीउ कुहिएको थियो । कृषि विकास कार्यालय चितवनका बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार जिल्लाको ९७ दशमलब ७ हेक्टर क्षेत्रफलमा लगाइएको आलुको बीउ कुहिएको छ ।

एक हेक्टर क्षेत्रफलमा दुई हजार किलो आलुको बीउ प्रयोग हुने गर्दछ । उहाँले भन्नुभयो “आलुको बीउ कुहिएसँगै किसानले बीउ नपाउने र मूल्य नपाउनसक्ने जनाउँदै खेती परिवर्तन गर्न थालेका छन् ।” जिल्लामा एक हजार ९९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आएको छ । अहिले वर्षातका कारण बीउ उम्रने समयमा कुहिएपछि केही क्षेत्रफल घट्न सक्ने कार्यालयले जनाएको छ ।

किसानले उत्पादनपछि बजार मूल्य नपाउने हो की भन्ने डरले आलु लगाउने जग्गामा राजमा, सिमि जस्ता बाली लगाउन थालेको उहाँले जानकारी दिनुभयो । जिल्लामा विशेषगरी खैरहनी नगरपलिका, राप्ती नगरपालिका, रत्ननगर नगरपालिका, भरतपुर महानगरपालिका र माडी नगरपालिकामा आलुखेती हुने गरेको छ । प्रति किलो रु ६० मा किनेर लगाएको आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् । पुनः लगाउनका लागि आलुको बीउ पाउनसमेत कठिन भएको छ । चौहानले भन्नुभयो “कतिपयले बीउ कुहिए पनि पुनः आलु खेतीनै गरेका छन् भने कतिपयले खेती परिवर्तन गरेका छन् ।”

प्रतिक्रिया दिनुहोस !