चितवनः संयुक्त एम्बुलेन्स चालक संघ नेपालले राख्दै आएका माग अझै सम्बोधन हुन सकेका छैनन् । संघले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग राख्दै आएको छ ।
त्यसैगरी, एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने संघका माग रहेका छन् । देशभर छ हजार एम्बुलेन्स छन् । तीमध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन नसकेको संघका अध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।
उहाँले भन्नुभयो “यस अघिका सरकारले हाम्रा मागलाई वेवास्ता ग¥यो, अहिलेको सरकारले सम्बोधन गर्नेमा हामी ढुक्क छौं ।” नागरिकको बलमा बनेको सरकार र स्वास्थ्य क्षेत्र बुझ्नु भएकी मन्त्रीबाट आफूहरुका माग सम्बोधन हुने लामिछानेको भनाई छ । लामिछानेले केही दिनमै स्वास्थ्य मन्त्री समक्ष आफ्नो माग राख्न लागिएको बताउनुभयो ।
यस अघि आफ्ना माग पूरा गर्न आग्रह गर्दै संघले स्वास्थ्य मन्त्री सहित, प्रमुख दलहरूलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । ऐनका कारण स्वास्थ्य संस्था बाहेक अन्यले नयाँ एम्बुलेन्स ल्याउन नपाउँदा गाउँबस्तीमा एम्बुलेन्सको अभाव भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “पहिलेका पुराना भए, नयाँ आउन सकेको छैन, यसले गाउँघरमा एम्बुलेन्स नपाईने समस्या बढ्दै गएको छ ।”








