नारायणगढ (चितवन), २३ कात्तिक :
चितवन, नवलपरासी र तनहुँ जिल्लाको मनोरम दृश्यावलोकनका लागि ‘भ्यूटावर’ सरह आकर्षक स्थल बनेको गैंडाकोटको मौलाकालिका मन्दिर धार्मिक आस्था र पर्यटन दुबै दृष्टिले महत्वपूर्ण गन्तव्य बनेको छ । मौलाकालिका मन्दिर प्रसिद्ध हिन्दु देवी माता कालिका को मन्दिर हो, जुन नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) अर्थात् नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–१ मा अवस्थित छ । यो मन्दिर पूर्व–पश्चिम राजमार्गको नारायणी पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ, समुद्र सतहदेखि ५६१ मिटर उचाइमा रहेको वनको डाँडामा स्थित छ ।
इतिहास अनुसार, १६औँ शताब्दीमा पाल्पाका राजाले देवी कलिकाको प्रतीकस्वरूप यस स्थानमा मन्दिर स्थापना गरेपछि यस क्षेत्रको पहाडलाई ‘मौला पहाड’ नाम दिइएको थियो । हिन्दू पौराणिक मान्यताअनुसार देवी काली (कलिका माई) शक्ति, ऊर्जा र नयाँ शुरुवातको प्रतीक हुन् । हरेक वर्ष नेपालका विभिन्न भागहरू र भारतलगायत छिमेकी मुलुकबाट हजारौँ भक्तजन यहाँ पूजा–अर्चन गर्न आउने गर्छन् । पर्यटकहरू यहाँ दर्शनसँगै चिसो बतास, हरियाली जंगल र टाढा देखिने हिमशृङ्खलासहितको मनोरम दृश्य अवलोकन गर्न आउने गर्छन् ।
मन्दिर पुग्न हिँडेर जाँदा करिब दुई हजार सिँढी चढ्नुपर्ने हुन्छ । कतिपय मानिसहरू दैनिक शारीरिक व्यायामका लागि पनि यसै बहानामा यहाँ पुग्ने गर्छन्। हाल मौलाकालिका मन्दिरसम्म पुग्न छोटो दूरीको केबलकार सेवा सञ्चालनमा आएको छ, जसले भक्तजन र पर्यटकलाई सजिलै मन्दिरसम्म पु¥याउँछ । नारायणगढबाट नारायणी पुल पार गरेपछि करिब दुई किलोमिटरमा मन्दिरको प्रवेशद्वार पुगिन्छ । त्यहाँबाट केबलकारमार्फत पाँच मिनेटको यात्रामा मन्दिर नजिकै पुग्न सकिन्छ। साथै मौसम सफा र सुख्खा रहँदा साना सवारीसाधन तथा स्थानीय अटो–रिक्साबाट पनि मन्दिरसम्म पुग्न सकिन्छ ।
मौलाकालिकाको शिखरबाट नवलपरासी, चितवन, तनहुँ र गोर्खाका अग्ला डाँडा, भिरपाखा तथा हिमशृङ्खलाहरू स्पष्ट देख्न सकिन्छ। साथै देवघाटधाम, नारायणी नदी, नवलपुर र चितवनका समथर भूभाग तथा चितवन राष्ट्रिय निकुञ्जको हरियाली जंगलले दृश्यलाई अझ मोहक बनाउँछ । मन्दिर परिसर नजिकै मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा अवस्थित होटल इलामा बास बस्नेहरूले यहाँको रात्रिकालीन र बिहानीको दृश्यबाट अझ रमाइलो अनुभव लिन सक्छन्। उक्त होटलमा सुइट र डिलक्स कोठा, ब्याङक्वेट र कन्फरेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत आधुनिक सुविधाहरू उपलब्ध छन् ।मौलाकालिकाको शान्त वातावरण, सुन्दर भू–दृश्य र धार्मिक आस्थाले यो स्थानलाई नवलपरासी र चितवन क्षेत्रकै प्रमुख धार्मिक–पर्यटकीय गन्तव्यको रूपमा परिचित बनाएको छ ।








