चितवनः राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राती सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनीबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहीत बनाउने आधार तयारीका लागि दलहरु सहित सरकारलाई ध्यानाकर्षण गराएको छ ।
छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वान समेत गरेको छ । घोषित निर्वाचनको परिणम देश र जनताको सर्वोपरी हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुने गरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गरेको छ । रास्वपा प्रवक्ता मनिष झाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ “पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेन्डा र उम्मेदवारको पक्षमा मतमार्फत् जनविश्वास व्यक्त हुने गरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पंक्तिलाई विशेष आग्रह गर्दछौं।”
जेन–जी आन्दोलनका क्रममा भएका मानवता विरोधी घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारवाही गर्न माग समेत रास्वपाले गरेको छ । विज्ञप्तिमा आउँदा दिनमा राज्यका निकायमा जेन–जी आन्दोलनको भावना र म्यान्डेट अनुसार उनीहरुको सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताको प्रिय र विश्वासयोग्य शक्ति बनाउन पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने, पार्टी रुपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि÷प्रक्रिया अन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउने निर्णय गरेको छ । देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकोले यसका लागि, समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह बैठकले गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोधको परिणाम स्वरूप दायर गरिएको एक नियोजित र बदनियतपूर्ण भएको र यसले लोकतान्त्रिक अभ्यास माथि प्रहार गर्दै जनविश्वासलाई समेत कमजोर पार्ने काम गरेको विज्ञप्तीमा जनाईएको छ ।
फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९) मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई बैठकले आग्रह गरेको छ ।
बैठकमा देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रुपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक जीवन एवं तत्कालिन कार्यभारबारे छलफल भएको थियो ।
केन्द्रीय समितिका सदस्यसहित देशभरबाट आमन्त्रित ५१२ जना प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अबधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन, सह–महामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियान सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो । ती प्रतिवेदनलाई समूहगत छलफल गरिएको थियो ।
विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की, केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले लिखित सुझाव पेश गरेको बिज्ञप्तिमा जनाईएको छ ।








