चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय बिस्तारीत वैठकमा कार्यवहाक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनैतिक तथा सांगठनीक प्रतिवेदन पेश गर्नु भएको छ । आज देखि सौराहामा सुरु गरीएको बिस्तारीत बैठकमा अर्यालले ३४ पृष्ठ लामो राजनैतिक प्रतिवेदन पेश गर्नुभएको थियो भने महामन्त्री बुर्लाकोटीले सांगठनीक प्रतिवेदन पेश गर्नु भएको थियो ।
राजनैतिक प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको स्वीकार गर्नुभयो । प्रतिवेदनमा भनिएको छ रास्वपाले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिनको माग गरेको छ, जसमा दोषीलाई कारबाही गरिनु पर्छ । कार्यवाहक सभापतिले घटना योजनाबद्ध भएको आशंका गर्दै दोषीलाई कारबाही नगरे न्याय स्थापित नहुने बताउनुभयो ।
आजबाट सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ “सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनाबद्ध हो कि भन्ने आशंकालाई पनि बढाएको छ ।” दोषीहरूलाई कारबाही नगरी न्याय स्थापित हुन नसक्ने भन्दै प्रतिवेदनमा दण्डहीनताले भविष्यमा पनि यस्ता घटना दोहोरिने सम्भावना बढ्ने उल्लेख गरिएको छ । दोषीलाई कारबाही गरेर मात्र पीडितले न्याय पाउँछन् र कानुनी राज्यको प्रत्याभूति हनेछ भन्ने उल्लेख गरिएको छ ।
छानबिनबाट मात्रै भविष्यमा राज्यले बल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, भिड नियन्त्रणका उचित उपाय र शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्ने तरिकाबारे नयाँ नीति र कार्यविधि बनाउन सकिने उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई आफ्नो ‘अर्जुनदृष्टि’ बनाउँदै स्पष्ट बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने राजनीतिक कार्यदिशा तय गरेको प्रतिवेदनमा उल्लेख छ । राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक सभापति अर्यालले चुनाव केन्द्रित रणनीति र त्यसका लागि वैकल्पिक शक्तिहरूबीच एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गरेको बताउनुभयो ।
प्रतिवेदनमा आगामी चुनावलाई देशको रुपान्तरणका लागि निर्णायक अवसरको रूपमा चित्रण गरिएको छ। पार्टीले स्पष्ट बहुमतको सरकारले मात्र देशमा लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य गर्न, नीतिगत स्थिरता प्रदान गर्न र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सक्ने ठहर रास्वपाले गरेको छ।
महामन्त्री बुर्लाकोटीे तीन जिल्ला बाहेक अन्य जिल्लामा संगठनको संरचना पुगेको वताउनुभयो । ७४ जिल्लमा संगठनीक संरचना वनी सकेको र बिभिन्न आयोग तथा संगठनीक संरचना निर्माणको काम भईरहेको उहाँले बताउनुभयो । हाल सम्म ४६४ पालिकामा अबिधेशन सम्पन्न भईसकेको उहाँको प्रतिवेदनमा उल्लेख छ ।
दुबै जनाको प्रतिवेदन माथि सात वटा समुह वनाएर छलफल जारी रहेको छ । शनिबार तीनवटा प्रतिवेदन माथि छलफल हुने छ । जसमा उपसभापति स्वणिम वाग्लेको चुनावी बाचा पत्र, सहमहामन्त्री विपिन आचार्यको उम्मेदवार छनोट सम्बन्धि प्रतिवेदन र रास्वपा सभापतिको रिहाईका लागि संकलन गरिएको हस्ताक्षर सम्बन्धि प्रतिवेदन पेश हुने छ । ती प्रतिवेदनमा सामुहीक छलफल संगै आगामी कार्यदिशा सहित विस्तारीत बैठक सकिने महामन्त्री बुर्लाकोटीलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा देशभरका ५१२ जना प्रतिनिधिहरु सहभागि भएका छन् ।
बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरू सहभागि रहेका छन् ।








