चितवन:नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि वन्द नहुने भएको छ । सडक खण्डमा रहेका पुल फराकीलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिदैं आएकोमा आजबाट सडक वन्द नगरिने भएको हो । भित्तो काट्न कठिन भएपछि गएको पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक वन्द गरेर काम हुर्दै आएको थियो ।
पहिलो तीस दिन बिहान ११ वजेबाट दिउँसो ३ वजे सम्म बन्द गरिएको थियो भने त्यस पछि दिउँसो १२ वजेबाट ४ वजे सम्म सडक वन्द गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी ई.कृष्ण आचार्यका अनुसार सवारी रोकेर पाँच ठाउँको पहाड काट्न सुरु गरिएकोमा तुईन खोलाको मुग्लिन तर्फको पहाड बाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ । तुईन खोलाको भित्तोलाई बिष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आजबाट वन्द गर्न लागिए संगै सडक वन्द नहुने भएको हो ।
तुईन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी रहेको छ ।
यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टीको भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघिनै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच वटा पुल निर्माणाधीन रहेका छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो ।
आचार्यका अनुसार तुईन खोलाको भित्तो काट्नका लागि बिष्फोट गराउन अनुमती लिने प्रकृयामा रहेको छ । अनुमती पाए संगै एक महिनामा बिष्फोटक पदार्थ झिकाएर बिष्फोट गराउने तयारी आयोजनाले गरेको उहाँले जानकारी दिनुभयो ।






