चितवनः राष्ट्रपति बिद्यादेबी भण्डारी आज चितवन आउदै हुनुहुन्छ । नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटनका लागि भण्डारी चितवन आउन लाग्नु भएको हो । नेपाल औषधि उत्पादक संघले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।
संघका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । राष्ट्रपति चितवन आउने भए पछि जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाईएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । सवारी आवागमनलाई सहज हुने गरी सुरक्षा मिलाईएको उहाँको भनाई थियो ।
एक्स्पो वैशाख ९, १० र ११ गतेसम्म सञ्चालन हुनेछ । संघका महासचिव विप्लव अधिकारीले यस पटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अंगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाईएका संवेदनशीलताको बारेमा जनमानसमा सचेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उहाँको भनाई छ ।
औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङ्ग लगायतमा भएका विकासहरुको प्रत्येक दुई वर्षमा एक्स्पो गर्दै आएको जानकारी दिनुभयो । सन् २०२१ मा हुने पर्ने एक्स्पो भने कोभिडका कारण हुन सकेन ।
यस पटकको आठौं संस्करणको एक्स्पोमा १६० स्टल रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगहरुका स्टल एक्स्पोमा रहने छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । संघले आज बिहान ७ बजे प्रदर्शनी स्थलबाट शोभायात्राको आयोजना समेत गरेको छ । यस्तै शनिबार राष्ट्रिय योजना आयोग, औषधि उत्पादक, बिक्रेता, पत्रकारहरुबीच अन्तक्र्रिया कार्यक्रम समेत हुनेछ ।
एक्स्पोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र नेपाल फार्मेसी संघको आवद्धता रहेको छ । एक्स्पोका ३० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजक रहेको छ । एक्स्पोमा विभिन्न ठाउँबाट आवतजावत गर्नका लागि सटल बस, फुड कोर्ड, पार्किङ लगायतको व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस !