सनद अधिकारी/ चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको धार्मिक एवम् ऐतिहासिकस्थल गणेशस्थान क्षेत्रलाई गणेश धामको रुपमा विकास गर्न कामको थालनि बुधबारबाट गरिएको छ । सो क्षेत्रमा निर्माण गरिने तलाउको प्रदेश सभा सदस्य विजय सुवेदीले एक समारोहका बिच शिलन्यास गर्नु भयो ।
प्रदेश नम्बर ३ सरकारले उपलव्ध गराएको रु ५० लाख रकमबाट तलाउ खन्ने कामको थालनि गरिएको हो । जेठ मसान्त सम्ममा सो रकम वरावरको तलाउ खन्ने काम सम्पन्न गरिने भएको छ । गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार करिब २५ विगाह क्षेत्रफलमा तलाउ निर्माण गरिने छ । अपुग रकम थप गरि क्रमश काम अघि वढाईने छ । सामुदायीक वनको सो क्षेत्रमा थोरै खनेर तलाउ वनाउन सकिने भएकाले कम लागतमा काम गर्न सकीने चुकेले बताउनु भयो ।
तलाउको वरिपरी पाँच किलोमिटरको प्यारापिट बनाइँदैछ जसमा दौडिन र साइकल चलाउन सकिनेछ । आकर्षक खालका झोलुङ्गे पुलबाट दृश्यावलोकन गर्न सकिने व्यवस्था गरिनेछ । तलाउको छेउमा हात्ती, जरायो जस्ता जनावरका झुण्डका मूर्तिहरू पनि निर्माण गरिने छ । तलाउमा डुँगा सयरको व्यवस्था गरिनेछ । यसअघि २०६४ सालयता सो क्षेत्रमा रु ८० लाख खर्चेर दुई वटा सभाहल, शौचालय, मठमन्दिरको जिर्णाेद्वार गरिएको चुकेले बताउनुभयो ।
चुकेका अनुसार करिब ३० फिट अग्लो गणेशको मूर्ति बनाइनेछ । ठूलो तलाउमा जलविनायक गणेशसँगै नजिकै डाँडामा कैलाश पर्वतको रुवपमा शिव, पार्वती, कुमार र गणेशको आकर्षक मूर्ति निर्माण गरिनेछ । मूर्तिहरूसहितको तस्वीर लिन सकिने गरि गुरुयोजना निर्माण गरिदैछ ।
भरतपुरको मुख्य बजार नजिकको सो स्थललाई धार्मिकस्थल र पार्कका रुपमा विकास गरिने भएको हो । गणेशस्थान मन्दिर क्षेत्रको धार्मिक वन २.४३ हेक्टर छ । नवजागृति सामुदायिक वन र जलदेवी सामुदायिक वन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यसको विस्तार गर्ने योजना अघि बढाइएको छ ।
धाम निर्माणका लागि काम गरिरहनु भएका प्रदेशसभा सदस्य सुवेदीले नमूना क्षेत्रको रुपमा गणेशस्थानलाई विकास गरिने बताउनुभयो । निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न लागिएको उहाँको भनाइ छ ।
स्थानीय निकाय, प्रदेश सरकार, जनसहभागिता र निजी क्षेत्रको सहयोगमा गणेशस्थानलाई धामको रुपमा विकास गर्न लागिएको उहाँले बताउनु भयो । गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम भईरहेको छ ।
गणेशधाममा डिपिआर अनुसारको काम सम्पन्न गर्न करिब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । हालै सम्पन्न महायज्ञबाट रु १० करोड संकलन भएको छ । अन्य रकम सरकारी र निजि क्षेत्र संग सहकार्य गरेर उठाईदै छ । सो क्षेत्रमा हाल गणेश, कमलेश्वर, सन्तोषीमाता, पशुपति, मनकामना, चन्द्रेश्वरी, सरस्वती र विश्वकर्माका मन्दिर रहेका छन् । ती मन्दिर मर्मत सम्भार र सजावटको काम केहिदिनमानै सुरु गर्न लागिएको छ । गणेशधाम चितवनको अर्को महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने उहाँले बताउनुभयो । धामलाई चितवन र नवलपरासीका विभिन्न धार्मिक पर्यटकीय स्थलहरूसँग जोडेर एकीकृत विकास गर्ने योजना छ ।
गणेशस्थान भरतपुर महानगरपालिकाको सबैभन्दा पुरानो ऐतिहासिक तथा धार्मिक स्थल हो । पौराणिक कालमा पाल्पा राज्यका प्रतापी राजा मणिमुकुन्द सेनको राज्यकालमा बनेको ऐतिहासिक इनारसमेत यस स्थानमा रहेकाले तत्कालीन अवस्थादेखि नै धार्मिक थलोको रुपमा स्थापित भएको स्थानीयको भनाइ छ ।
शहरको कोलाहलबाट नजिकै निर्माण गर्न लागिएको धाम स्थानिय संगै आन्तरिक र वाह्य पर्यटकका लागि महत्वपूर्ण हुने बताईएको छ ।