चितवनः आन्तरिक राजश्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरुबाट रु १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व संकलन हुन बाँकी रहेको हो ।
कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरुको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराईसकेको छ । उहाँले भन्नुभयो “बक्यौता उठाउनका लागि म्यासेज पठाउने काम गरेका छौ । ग्राहकहरु आउनुहुने छ भन्नेमा हामी छौ ।” कर संकलनका लागि कार्यालयले करदाता शिक्षा, घरदैलो कार्यक्रम, पालिका र वडा अनुसार करदाताको सूचि तयार गरेर पत्राचार गर्ने, संकलन भ्रमण गर्ने लगायतका कामहरु गरिएको उहाँले बताउनुभयो । बक्यौता रकम तिर्न बाँकी रहेका ग्राहक मध्ये २२ जनाको बैंक खाता रोक्का गरिएकोमा दुई जनाले कर तिरेर खाता फुकुवा गरेको छन् ।

यस कार्यालयले असोज मसान्तसम्म रु ५ अर्ब ५१ करोड ३५ लाख ३४ हजार राजश्व संकलन गरेको छ । राजस्व बिभागले तोकेको लक्ष्यको ९७ दशमलब ४७ प्रतिशत राजश्व उठाउन सफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार बिभागले रु ५ अर्ब ६५ करोड ६५ लाख ५३ हजार राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो । जेन–जी आन्दोलनमा जलेको कार्यालयले भदौ २९ गतेदेखि सेवा दिन सुरु गरेको छ । यस कार्यालयमा ७२ हजार बढी करदाता रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !