
चितवनः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधब कुमार नेपालले अहिलेको सरकारका कारण भएका परिवर्तनको बारेमा अरुदलले समेत औचित्य पुष्टि गर्न पाएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले परिवर्तनलाई रक्षाका लागि अन्य दलले समेत औचित्य पुष्टि हुने गरेर सरकारले काम गर्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकारको अयोग्यताले गर्दा अरु दलका नेताहरुले जुन ढङ्गले यो परिवर्तनको औचित्यलाई पुष्ठि गर्ने आधार पाउन सकेनन् । भएको परिवर्तनलाई रक्षा गर्न सबै लाग्नु पर्छ ।” अहिले आँफुहरु सरकारमा जाने मनस्थितिमा नरहेको उहाँको भनाई छ । उहाँले आँफुहरु जनतामा जाने, जनताको समस्यामा भिज्ने तर्फ ध्यान केन्द्रीत गरेका बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकारमा जाने, सरकारका निम्ति ढुकेर वस्ने मनस्थिति छैन । जनतामा जाने, जनताका समस्यामा भिज्ने तर्फ ध्यान केन्द्रीत छ ।” बाहिरी हल्लामा भए जस्तो केही नभएको भन्दै उहाँले अहिले कमि कम्जोरीलाई सुधार गरेर अघि वढ्ने समय रहेको बताउनुभयो ।
के फेरी राजतन्त्र फर्कन सक्ला ? भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले इतिहाँसको पाङ्ग्रा पछाडी नफर्कने बताउनुभयो । उहाँले पूर्ब राजा ज्ञानेन्द्र शाहालाई लक्षित गर्दै भन्नुभयो “ शाही बंशले देशलाई के दियो भनेर सबै हेर्ने हो भने प्रष्ट हुन्छ देशका निम्ति बोझ दियो । आफ्नै परिवारको नास गर्ने खुबि भएकालाई अरुको नास गर्ने जिम्मा दिने ।”राजतन्त्र ल्याएर फाइदा नभएको बताउँदै उहाँले व्यक्ति बिशेषमा राम्रो भावना, योजना राम्रो भए राम्रो काम गर्न सक्ने बताउनुभयो ।
नेपालीहरु हाम्रो देश चलाउन, अघि वढाउन, देशको सम्मान, स्वाभिमानको रक्षा गर्न र स्वतन्त्रताको रक्षा गर्न आफै सक्ने अबस्थामा रहेको उहाँले बताउनुभयो । फरक प्रसंगमा बोल्दै अध्यक्ष नेपालले शिक्षकहरुको मागको बारेमा सरकार उदार वन्न नसकेको आरोप लगाउनुभयो । बर्षै देखि भएका सहमतीहरु कार्यान्वयन गर्न सरकारलाई उहाँले आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो “बिद्यार्थीको भविश्यसंग जोडीएको बिषय छ । यसलाई सरकारले समाधान गर्न तदारुपता देखाउनु पर्छ ।”