चितवन, १० माघ । नेपाल लेयर्स कुखुरा पालक संघको स्थापनासँगै यहाँका लेयर्स कुखुरा पालक कृषकहरुले अण्डाको लागत मूल्य पाएको बताएका छन् । संघको दोस्रो साधारणसभामा बोल्ने वक्ताहरुले संघको स्थापना गरेर देशव्यापी रुपमा कृषकलाई संगठित गरेर बजारीकरणमा लागेका कारण अण्डालाई आत्मनिर्भर बनाईराख्न सकेको बताएका छन् ।

बि.सं. २०७९ असोज २८ गते नेपालका ठूलो संख्यामा लेयर्स कुखुरा पालन गर्दै आएका कृषक एवं व्यवसायी संगठित भएर यो संघ गठन भएको हो । आज काठमाण्डौंमा भएको साधारणसभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विनोद पोखरेलले संघ स्थापना भएपछि दैनिकजसो बैठक र देशव्यापी दौडाहा अभियानमा लागेका कारण आज अण्डा उत्पादक किसानले लागत मूल्य पाएको बताउनुभयो । उहाँले भन्नुभयो “सबैको साथ र सहयोगका कारण आज हामीले अण्डालाई आत्मनिर्भर बनाउन सकेका छौं ।”

राज्यले समयमा ध्यान नदिंदा धेरै कृषक पलायन भएको भन्दै उहाँले टिकेकाहरुले ऋण थप गरेर काम गर्नु परेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष नारायणहरि खत्रीले अण्डा उत्पादक कृषक र व्यवसायीहरु संगठित भएका कारण अण्डाले राम्रो बजार पाएको बताउनुभयो ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले सरकारले भन्सार दरमा सम्बोधन गर्न सकेमा दानाको मूल्य घटाउन सकिने बताउनुभयो । नेपाल ह्याचरी उद्योग संघका उपाध्यक्ष राजेन्द्र लामिछाने र नेपाल अण्डा उत्पादक संघका पूर्व अध्यक्ष  त्रिलोचन कँडेलले सरकारले पोल्ट्री व्यवसायलाई सम्बोधन गर्न नसकेका कारण धेरैको सम्पत्ति लिलामीमा जाने अवस्थामा पुगेको भन्दै संघको स्थापनाका कारण अहिले अण्डाले मूल्य पाएको बताउनुभयो ।

उहाँहरुले बैंकको चर्काे व्याज, दानाको कच्चा पदार्थ र औषधिको मूल्य बृद्धि लगायतका कारण ७५ प्रतिशत हाराहारी कृषक पलायन भएको बताउनुभयो ।

संघका उपाध्यक्ष सुनिलकुमार शाक्यले निरन्तर बजारीकरणमा लाग्न नसकेमा अण्डाले मूल्य नपाउने बताउनुभयो । साधारणसभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष पोखरेल, महासचिवको प्रतिवेदन महासचिव भेषराज अर्याल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश चापागाईले प्रस्तुत गर्नुभएको थियो ।

संघका सचिव मदन पोखरेलले संघ स्थापना भएसँगै भौतिक र अनलाईन मार्फत् दैनिक छलफल गरेर कृषकलाई उत्प्रेरणा गर्ने र उपभोक्तालाई अण्डाको महत्वबारे बुझाउन सकेका कारण अण्डाले बजार पाएको बताउनुभयो ।

कार्यक्रममा झापा जिल्ला अण्डा उत्पादक संघका अध्यक्ष भरत चौलागाई, दाङ जिल्ला अण्डा उत्पादक संघका अध्यक्ष भरतमणि शर्मा, मकवानपुर कुखुरा व्यवसायी संघका पूर्व अध्यक्ष राजु अधिकारीलगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !