चितवनः नारायणी लिफ्ट सिंचाई तथा खगेरी सिंचाई आयोजनाले हिउँदमा पनि पानी छोडेको छ । आयोजनाले ५० वर्ष पछि आफ्ना दुबै नहरबाट हिउँदमा पानी छोडेको हो । यस अघि वर्षायाममा मात्रै पानी छाडिने गरेकोमा अब बाह्रै महिना नहरमा पानी ल्याउन सकिने भएको छ ।

आयोजनाका सूचना अधिकारी कुलराज चालिसेका अनुसार बि.सं. २०३९ सालमा स्थापना भएको यस आयोजनाले यसपटक हिउँदको समयमा दुईवटै नहरमा पानी छोडेको हो । उहाँले भन्नुभयो “नहरमा गतवर्ष बि नहरबाट मात्रै पानी छोडेका थियौं । अहिले दुबै नहरबाट पानी छोडेका छांै ।” किसानको माग अनुसार पानी छोडीएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “गहुँ, आलु र राजमा खेती गर्ने किसानको माग अनुसार पानी छोडेका छौं ।”

बिगतका वर्षहरुमा उपभोक्ताको माग नहुने गरेकोमा दुई वर्ष यता माग वढेको हो । आयोजनाले ४ हजार ४ सय हेक्टर क्षेत्रफल सिंचाई गर्दै आएको छ । जस मध्ये अहिले ३५ प्रतिशत क्षेत्रफलमा गहँु, आलु र राजमा खेती गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले पानी छोडेको एक साता बढी भयो । किसानको माग अनुसार पानी छोड्छांै ।” वर्षातमा बिशेष गरी धान रोप्नका लागि मात्रै पानी छोड्ने गरिएको भए पनि अहिले हिउँदमा समेत पानीको माग बढेको उहाँले बताउनुभयो ।

चैत र बैशाख समयमा नारायणीमा पानी कम भए समस्या हुने भए पनि अन्यसमयमा माग अनुसारको पानी दिन आयोजना तयार रहेको उहाँले बताउनुभयो । अहिले गौरीगञ्ज क्षेत्रमा पानीको प्रयोग भईरहेको उहाँको भनाई छ । नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले हिउँदमा पनि सबै पम्पबाट पानी तान्न सक्ने व्यवस्था गरिएको बताउनुभयो । रु.३० करोडभन्दा बढी खर्च गरेर पम्प नयाँ जडान गरेपछि हिउँदको समयमा पानी दिन थालिएको हो । चैत र वैशाख महिनामा नारायणी नदीमा पम्पले तान्ने तहभन्दा पानीको सतह तल झर्ने गर्दछ । त्यसलाई समाधान गर्न भरतपुर महानगरपालिकाले रु.५० लाख विनियोजन गरेको भन्दै मुहान मर्मत गरेर बाह्रै महिना पानी तान्न सक्ने बनाईने बताउनुभयो । चैत लागेपछि मकैका लागि पानी आवश्यक पर्दछ । यसको तयारीमा समेत आफूहरु जुटेको रानाभाटले बताउनुभयो ।

भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदीबाट पम्पमार्फत् पानी तानेर महानगरका विभिन्न वडामा सिंचित गरिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !