
चितवनः चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको काम सुरु गरेको छ । चलु आर्थिक वर्षमा २५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजना अनुसार अहिले काम सुरु गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार रु ३७ लाख ५० हजार खर्चमा घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको हो । निकुञ्ज भित्र कसरा, लामिताल, सुखिभार, भिम्ले, डुमरीया, बुढी राप्ती लगाएतका क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “वन्यजन्तुलाई चरन क्षेत्र व्यवस्थापनका लागि हरेक वर्ष घाँसेमैदान व्यवस्थापनका काम हुँदै आएको छ ।”
घाँसेमैदान व्यवस्थापनका लागि घाँस काट्ने मेसीन संगै मजदुर लगाएर घाँसेमैदान व्यवस्थापन थालिएको उहाँले जानकारी दिनुभयो । अहिले कसरा क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भईरहेको उहाँले बताउनुभयो । हाल सम्म ६० हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सकिएको उहाँले जानकारी दिनुभयो । निकुञ्ज ९५२ दशमलब ६३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जस मध्ये ८ हजार ९५५ दशमलब २ हेक्टर क्षेत्रफल घाँसेमैदानका लागि उपयुक्त छ । हरेक वर्ष सो क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम गर्नुपर्ने हुन्छ । गत वर्ष रु ४० लाख ७० हजार खर्च गरेर ३७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम गरिएको थियो । कोभिड अघि सम्म घाँसेमैदान व्यवस्थापनमा धेरै वजेट बिनियोजन हुने गरेको भए पनि अहिले निकै न्यून वजेटमा थोरै काम मात्र हुने गरेको थापामगरले जानकारी दिनुभयो ।