चितवनः जिल्लामा रहेका एचआईभि एड्स संक्रमित बिपन्न परिवारलाई पोषण सामाग्री बितरण गरिएको छ । भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरमा नियमित औषधि सेवन गरेका बिपन्न २५ परिवारलाई आज पोषण सामाग्री हस्तान्तरण गरीएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनको नेतृत्वमा बिभिन्न संघ संस्थाहरुको सहयोगमा उनीहरुलाई पोषण सामाग्री हस्तान्तरण गरिएको हो । कार्यालयका प्रमुख दिनेश रुपाखेती, भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेललगाएतले उहाँहरुलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
सो अबसरमा बोल्दै रुपाखेतीले यसलाई न्यूनिकरण गर्नका लागि सबैको हातेमालो आबश्यक रहेको बताउनुभयो । जिल्लामा सन् २०२४ को हाल सम्म ९६ जना नयाँ संक्रमित भेटिएका छन् । उनीहरु मध्ये ६५ जना चितवनका हुन भने ३१ जना जिल्ला बाहिरका रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार २ हजार ११८ जनाको परिक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो । सन् २०२३ सम्ममा २ हजार ४५६ जना संक्रमित भरतपुर अस्पतालको एआरटी सेन्टरमा दर्ता भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नु्भयो “सेन्टरमा दर्ता भएका मध्ये १ हजार २९४ जना पुरुष, ९६७ जना महिला, १६५ जना बालबालिका र ३० जना तेस्रो लिङ्गी रहेका छन्।” सेन्टरमा हाल १ हजार २१७ जनाले एन्टी रेक्ट्रो भाइरल थेरापी औषधि सेवन गर्दै आएका छन् । जिल्लामा संक्रमित थपिने क्रमसंगै औषधि खान छोड्ने ५४ जना रहेका छन् । ३७ जना स्थानान्तरण भएर आएको सेन्टरका बरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरी सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२४ मा अन्य जिल्लाबाट आएका र यहाँका गरी १४५ जना नयाँ संक्रमितले औषधि सेवन गरेका छन् ।
संक्रमित मध्ये १३७ जनामा एचआईभि एड्स र क्षयरोग परिक्षण गरिएकोमा ४४ जनामा रोग पुष्टि भएको छ । जस मध्ये सबैले औषधि सेवन गरेको सापकोटाले बताउनुभयो । सन् २०२४ मा जिल्लामा २३ जना संक्रमितको मृत्यु भएको छ । सापकोटाले भन्नुभयो “यस वर्ष ३३ जना संक्रमितले पहिला औषधि सेवन गर्न छोडेर पुनः अहिले सेवनमा फर्किएका छन् ।” घरभेट कार्यक्रम अन्तर्गत उहाँहरु पुनः औषधि सेवन गर्न आउनु भएको उहाँले बताउनुभयो । लागुऔषध, मानसिक समस्या र बिभिन्न कारणले जिल्लामा नभएका कारण औषधि खान छोडेकाहरु पुनः औषधि खान थालेको उहाँको भनाई छ ।