चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने तुइनखोलाको पुल सञ्चालनमा आएको छ । दुई वर्ष हिउँदमा सडक रोकेर भित्तो काटेर पहाड भत्काएसँगै पुल निर्माण गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर बिजय दरैका अनुसार शनिवारबाट यो पु्ल सञ्चालनमा आएको हो । योसँगै नाम्सी खोल पुल पनि सञ्चालनमा आएको दरैले जानकारी दिनुभयो । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएपछि बि.सं.२०७९ र ८० का हिउँदका तीन÷तीन महिना दिउँसोमा सडक रोकेर पुल बनाइएको हो । तत्कालिन समयमा आयोजनामा सूचना अधिकारी रहनुभएका इन्जिनियर कृष्ण आचार्यका अनुसार पुल निर्माणका लागि ६५ मिटर अग्लो पहाड २ वर्ष लगाएर काटिएको हो ।

सो क्षेत्र सडक खण्डकै सबैभन्दा साँघुरो ठाउँ हो । हाल त्यहाँ पहाड भत्काएर ७ दशमलव ५ मिटर फराकिलो पुल बनाइएको छ । यो ६० मिटर लामो छ । आचार्यले भन्नुभयो । “एकापट्टी अग्लो पहाड र अर्कोपट्टी खोला छ । पहाड कडा चट्टान र काम गर्न निकै कठिन भयो ।” पहाड फोर्न कठिन भएपछि विस्फोट गराउने तयारी समेत गरेर अन्तिम चरणमा रोकिएको थियो । बिस्फोट गर्दा थप क्षती हुन सक्ने भएकोले अन्तिम प्रयास गर्ने सहमती अनुरुप गरिएको काम सफल भएको इन्जिनियर आचार्य बताउनुहुन्छ ।

सो सडकखण्ड बिस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो । सडक निर्माणकै क्रममा ४ वटा पुल फराकिलो बनाइएको थियो बाँकी १५ वटा पुलमध्य अब एउटा पुलमात्र निर्माण गर्न बाँकी छ । इन्जिनियर दरैका अनुसार खहरे खोलाको पुल बनाउन बाँकी छ । यो पुल मुआब्जाका कारण ढिलाइ भएको हो । पहुँच सडकको केही काम बाँकी रहेको भन्दै अबको २ महिनामा यो पुलपनि सञ्चालनमा आउने उहाँ जानकारी दिनुभयो ।

विसं २०७६ चैत १० गते १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक ९ देखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल समेत सोही अनुसार फराकिलो बनाईएको छ । पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो । रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।

प्रतिक्रिया दिनुहोस !