चितवनः नेपाली कांग्रेस चितवनले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान शुरु गरेको छ । केन्द्रको निर्देशन अनुसार केन्द्रीय प्रतिनिधि सहित टोलसम्म पुग्ने अभियान शुरु गरेको हो ।
नेपाली कांग्रेस केन्द्रको एक सय दिने विशेष अभियान अन्तर्गत सोमबारबाट जिल्लाले खटाएका प्रतिनिधि वडा वडामा पुगेर गतिविधि शुरु गरेका हुन् । जिल्ला सभापति राजेश्वर खनालका अनुसार सोमबार ६० वटा भन्दा बढी वडामा प्रतिनिधि पुगेसँगै त्यहाँ बैठक बसेर अभियान थालेका छन् ।
जिल्लाका ९८ वडा मध्ये बाँकी वडाहरुमा यही १५ गतेसम्म प्रतिनिधि पुगेर काम अघि बढाउने छन् । यस अघि केन्द्रले खटाएका प्रतिनिधि मधु आचार्यले खटिने प्रतिनिधि र जिल्ला नेताहरुसँग अन्तक्र्रिया गरेर प्रतिनिधिले गर्ने कामका बारेमा प्रशिक्षण दिनु भएको थियो । खनालले भन्नुभयो “यो अभियानले टोललाई केन्द्रसँग जोड्ने छ ।”
अभियानका क्रममा ५० प्रतिशत पार्टीका सांगठनिक कार्यक्रम र ५० प्रतिशत प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यक्रम गरिने छ । अबका दिनमा कसरी पार्टीलाई आम नागरिकका सरोकारसँग जोड्न सकिन्छ भन्ने विषयमा अन्तक्र्रियात्मक छलफल गराएर तल्लो तहसम्म संगठन मजबुद बनाउन अभियान सार्थक हुने उहाँको भनाई छ ।
अभियान फागुन ७ गतेसम्म सञ्चालन हुनेछन् । यस क्रममा जनताका गुनासो सुन्ने, सम्भव हुने गुनासाका सम्बोधन गर्ने लगायतका गतिविधि समेत गरिने छ । जनताका गुनासोसँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने सभापति खनालको भनाइ छ । कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
असोज ६ गते सुरु गर्न लागिएको अभियान बाढीपहिरोका कारण रोकिएपछि अहिले शुरु गरिएको हो ।