चितवनः आर्थिक मन्दी संगैं यहाँका उद्योगहरु धरासायी वन्दै गएका छन् । एकिन तथ्याङ्क नभए पनि उद्योगीहरुको भनाईमा ९० प्रतिशत उद्योग समस्यामा रहेका छन् । बिगतको तुलनामा ४० प्रतिशत उद्योग वन्द र क्षमता घटाएर संञ्चालनमा रहेका छन् ।
चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष मदन घिमिरेका अनुसार कोभिड १९ पछिको आर्थिक मन्दीका कारण उद्योगहरु पूर्ण रुपमा संञ्चालनमा आउन नसकेका हुन । अहिले राज्यको नीति, उत्पादित सामाग्रीको खपत कम हुनु, युवाशक्तिहरु बिदेश पलायन हुनुले समेत उद्योगहरु बन्द हुने अबस्था आएको उहाँले बताउनुभयो । उद्योग वन्द हुने अबस्थामा रहेकाले उद्योगीमा उत्साहित हुन नसकेको उहाँको भनाई छ । बैंकिङ् नीतिहरु परिवर्तन नगरे उद्योगहरुमा उर्जा नथपिने उहाँको भनाई छ । दशैं तिहार पछि पनि वजारमा उत्साहा नदेखिएको उहाँले जानकारी दिनुभयो ।
बागमती उद्योग परिसंघका निवर्तमान अध्यक्ष भेषराज दुवाडीले उद्योग नीति, भन्सार नीति, कच्चा पदार्थ ल्याउँदा फरक राजस्वका कारण उद्योगहरु समस्यामा परेको बताउनुभयो । कोभिड १९ पछि विश्वव्यापि रुपमा देखिएको द्धन्द्धका कारण नेपालमा भएका उद्योगहरु समस्या ग्रस्त भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अहिले १० प्रतिशत मात्रै उद्योग पूर्ण रुपमा संञ्चालित छन् । ९० प्रतिशत उद्योग समस्यामा छन् ।” अहिले वन्द हुने उद्योगहरुको संख्या बढ्दो क्रममा रहेको उहाँ बताउनुहुन्छ । चलिरहेका उद्योगहरुमा उत्पादन वढाउन नीतिगत रुपमानै सम्बोधन गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
उद्योगी त्रिलोचन कंडेल कोभिड पछि चार वर्ष उद्योगहरु घाटामा गएको बताउनुहुन्छ । उद्योगलाई ऋण थप्दै गर्दा नोक्सानका कारण संञ्चालन हुन नसक्ने अबस्थामा पुगेको उहाँ बताउनुहुन्छ । पोल्ट्रि व्यवसायी कंडे भन्नुहुन्छ “बैंकको ऋणलाई चुस्त राख्न व्याज तिर्नका लागि पुनः ऋण थप्दै जाँदा ओभर फाइनेसिङ् भयो । टिक्न गाह्रो भयो ।”भन्सार नीतिहरु वनाउँदा उद्योगलाई चाहिने कच्चा पदार्थ र उत्पादीत सामाग्रीको हेक्का नराखि नीति वनाएका कारण उद्यागहरुमा समस्या आएको उहाँ बताउनुहुन्छ ।
उद्योग परिसंघ बागमती प्रदेश महिला समितिकी अध्यक्ष चन्दना कोईराला आयातीत वस्तुको भन्सारका कारण उद्योगहरुमा समस्या परेको वताउनुहुन्छ । उहाँले भन्नुभयो “साना उद्योगी र ठूला उद्योगीमा बिभेद देखिएको छ । सरकारले हेर्ने दृष्ट्रिकोण देखि नीति वनाउँदा पनि ठूला उद्योगीलाई कस्ता समस्या छन् भनेर बनाउने गरेको छ । साना उद्योगीलाई हेरिदैंन ।” साना उद्योगीका हरेक समस्याहरु स्थानीय सरकारकै हो भनेर थमाइदिदाँ समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । समग्रमा उद्योगहरु धरासायी रहेको उहाँको भनाई छ ।
उद्योग तथा बाणिज्य कार्यालय चितवनका प्रमुख बिनोद पौडेल पछिल्ला दिनहरुमा उद्योगहरुमा समस्या देखिएको बताउनुहुन्छ । उद्योग स्थापना हुने क्रममा कमी आएको उहाँको भनाई छ । बिगत तीन वर्षलाई हेर्दा क्रमश उद्योग दर्ता घट्दे गएको उहाँ बताउनुहुन्छ । कार्यालयमा चालु आर्थिक वर्षको ४ महिनामा ११५ वटा उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षमा यो संख्या १८५ थियो भने अघिल्लो आर्थिक वर्षमा ३०२ वटा रहेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल खपतको अनुपातलाई हेरेर उत्पादन नगर्दा उद्योगहरुमा समस्या आएको बताउनुहुन्छ । सरकारका नीति नियमलाई परिपालना गर्ने कुरामा आँफुहरु पछि हट्न नमिल्ने भन्दै उहाँले उद्योगीहरुका समस्या नीतिगत रुपमा सुधारका लागि आबश्यक पहल गर्नुपर्ने बताउनुभयो ।
जिल्ला उद्योग प्रबर्धन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी राज्यका तर्फबाट जति हेर्नुपर्ने हो त्यो हुन नसक्दा उद्योगहरु धरासायी वन्दै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “राज्यले उद्योगको संरक्षण गर्नुपर्छ ।” राज्यले पूर्जीगत खर्च वढाउन सक्दा नीजि क्षेत्र लाभान्वित हुने भन्दै उहाँले त्यसो नहुँदा उद्योगीहरुमा समसया आएको उहाँले बताउनुभयो । उद्योग तथा बाणिज्य कार्यालय चितवनमा हाल सम्म १६ हजार ४६५ वटा उद्योग दर्ता भएका छन् भने चालु आर्थिक वर्षको चार महिनामा ८५३ वटा उद्योग नबिकरण भएको छन् ।

प्रतिक्रिया दिनुहोस !