चितवनः लामो समयसम्म दूध बिक्री गरेको भुक्तानी नपाएपछि जिल्लाका दुग्ध उत्पादक सहकारीहरुको साझा संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ आफैले दूधको प्रशोधन र बजारीकरण गर्ने तयारी अघि बढाएको छ । जिल्लाका ११५ वटा सहकारीमा दूध संकलन हुने गर्दछ । ती दूध चितवन र बाहिरी जिल्लाहरुमा बिक्री हुँदै आएको छ ।

बिक्री भएको दूधको भुक्तानी लामो समयसम्म नपाउँदा किसान प्रभावित भएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या आएपछि संघले नै प्रशोधन र बजारीकरण गर्ने तयारी गरेको बताउनुभयो । जिल्ला संघले आफ्नो साधारणसभाबाट निर्णय गरेर काम अघि बढाएको छ ।

बागमती प्रदेश सरकारको सहयोगमा भरतपुरमा चिस्यान केन्द्र बनाउने तयारी गरिएको छ । दुग्ध विकास संस्थानका जिल्लामा रहेका सात वटा चिस्यान केन्द्र लिएर दूध संकलन गरी प्रशोधन र बजारीकरण गर्ने तयारी गरिएको छ । कृषि मन्त्रालयसँग यस विषयमा छलफल भईरहेको उहाँले जानकारी दिनुभयो । दूध प्रशोधन गरेर दूध, पनिर, घिउ लगायतका दुग्धजन्य पदार्थ आफै बजारमा लैजाने तयारी संघको छ । संघले यस अघि नै दाना उत्पादन गरेर सहकारी मार्फत् कृषिकहरुलाई बिक्री गर्दै आएको छ ।

अध्यक्ष बगालेले भन्नुभयो “दुई–तीन महिनाभित्रमा हामी चक्लेट उत्पादन गर्दछौं, अरु काम क्रमशः हुँदै जान्छ ।” जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । जसमध्ये १ लाख ५१ हजार दूध सहकारी मार्फत् बजारमा जाने गर्दछ । दुग्ध विकास संस्थान सहित २० भन्दा बढी निजी संस्थाहरुमा दूध जाने गर्दछ ।
यहाँ संकलन भएको दूध काठमाण्डौं, पोखरा, मकवानपुर, काभ्रे, ललितपुर, भक्तपुर लगायतका जिल्लामा सञ्चालित निजी डेरीहरुले लैजाने गर्दछन् । जिल्लाका सहकारीहरुको रु.८० करोडभन्दा बढी भुक्तानी बाँकी छ । दुग्ध विकास संस्थानको मात्रै रु.३२ करोडभन्दा बढी छ भने अरु निजी डेरीको हो । कतिपयको जेठ यताको समेत भुक्तानी बाँकी छ । केही डेरीले नियमित भुक्तानी गरेपनि धेरैको भुक्तानी लामो समय अड्किँदा किसान प्रभावित बनेको बगाले बताउनुहुन्छ ।
दुग्ध विकास संस्थानकै कर्मचारीहरुले सर्लाही क्षेत्रमा चिस्यान केन्द्र सञ्चालन गरेर भारतबाट दूध ल्याएर संस्थानलाई नै दूध बिक्री गरेको बगालेको आरोप छ । यस्तै निजी डेरीहरुले भारतबाट गुणस्तर नभएका दूध ल्याएर बजारीकरण गरेको उहाँ आरोप लगाउनुहुन्छ । जसका कारण यहाँ उत्पादित दूध बजारीकरणमा प्रभावित बनेको हो ।

बगालेले भन्नुभयो “सरकारी र निजी दुवै क्षेत्रबाट कृषकको पक्षमा काम नभएपछि हामी आफैले प्रशोधन र बजारीकरण गर्ने बाध्य भएका हौं ।” नेपालमा दूध उत्पादक कृषक टिकाउनका लागि आफै नलागि नहुने अवस्थामा पुगेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !