चितवनः निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराली जाँदा दहीले स्वागत गरियो । विगतका वर्षहरुमा तयारी पेयपदार्थहरुले स्वागत गर्ने उहाँको सुसुरालीमा यस वर्ष दहीले स्वागत गरेको लामिछाने बताउनुहुन्छ ।
कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे । लामिछानेले भन्नुभयो “पहिले पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरु अहिले दूध, दही र मोहीमा आकर्षित भएको पाईयो ।” उहाँको अनुभवमा टिका थाप्न जाने सबैजसो घरमा दही मोहीले नै स्वागत गरेका थिए । कतिपयले बजारका पेयपदार्थ प्रयोग गरेपनि त्यो न्यून मात्रामा थियो ।
गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बुबाआमाको हातबाट टिका थाप्न आउने आधाभन्दा बढीलाई दही मोहीले स्वागत गर्नुभयो । उहाँले भन्नुभयो “बालबालिका बाहेक सबैलाई हामीले दही र मोहीले स्वागत ग¥यौं ।” दहीमा फलफूल राखेर फिटेर पनि खुवाईएको उहाँको भनाई छ । पण्डितले थप्नुभयो “बजारबाट लगेको पेय पदार्थ खासै खपत भएन, धेरैले अहिले दही र मोही नै खान रुचाए ।”
विवाहको पहिलो वर्ष घर, मामाघर र ससुराली टिका थाप्न पुग्नु भएका विद्यार्थी नेता सचेत सुवेदी अधिकांशले दही र मोहीले स्वागत गरेको बताउनुहुन्छ । कृषिमा स्नातकोत्तर गर्नुभएका सुवेदीले भन्नुभयो “पछिल्लो समय आम नागरिकमा स्वास्थ्यप्रतिको सचेतना निकै बढेको पाईयो । जसले गर्दा बजारको पेय पदार्थ नभएर दूध, दही र मोहीमा चासो बढेको पाईयो ।” सरकारले आम नागरिकलाई दुग्धजन्य पदार्थको उपभोगको बारेमा जनचेतना जगाउनु पर्ने उहाँको सुझाव छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले पछिल्ला दिनहरुमा दही र मोहीको माग बढ्दै गएको बताउनुहुन्छ । उहाँको भनाईमा पहिले पहिले बजारको पेय पदार्थले स्वागत गर्नेहरुले अहिले दही र मोहीले स्वागत गर्ने गरेका छन् ।
जिल्लाका तीन वटा दुग्ध उत्पादक सहकारीले मोही उत्पादन गर्दै आएका छन् । भरतपुरको अन्नपूर्ण, गंगानगर र गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छन् । बगाले दसैँमा पाउनेले तयारी मोही नपाउनेले दहीलाई फिटेर मोही बनाएर पनि पाहुनाको स्वागत गरेको बताउनुहुन्छ ।
जिल्लामा ११५ वटा दुग्ध उत्पादक सहकारी छन् । तिनले दैनिक तीन लाख ५० हजार लिटर दूध संकलन गर्ने गर्दछन् । जसमध्ये एक लाख ५० हजार लिटर बाहिरी जिल्ला जान्छ । बाँकी दूध जिल्लाका डेरी पसलहरु मार्फत् बिक्री हुने गर्दछ । चाडपर्वको समयमा दुग्धजन्य पदार्थको माग बढी हुने गर्दछ ।
भरतपुर महानगरपालिका वडा नं. २२ मा रहेको श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा आफूहरुले विगत ६ महिनादेखि मोही उत्पादन गर्दै आएको बताउनुहुन्छ । शुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै उहाँले पछिल्लो समय माग बढ्दै गएको बताउनुहुन्छ ।
विगतमा पाँच सय लिटर दैनिक उत्पादन गर्ने गरेको बताउँदै उहाँले माग बढी हुने समयमा दैनिक एक हजार लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिनुभयो । पछिल्लो समयमा वैवाहिक समारोह, धार्मिक कार्यक्रम, राजनीतिक कार्यक्रमहरुमा समेत मोहीको माग हुने गरेको सापकोटाको भनाई छ । उहाँले भन्नुभयो “विवाह, कार्जे लगायतका कार्यक्रमका लागि समेत महीको माग हुन गरेको छ ।”
यस वर्षको दसैंमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी दही बिक्री भएको उहाँ बताउनुहुन्छ । फूलपातीदेखि दसमीसम्म दैनिक एक हजार लिटर दही बिक्री भएको उहाँले जानकारी दिनुभयो । दैनिक पाँच सय लिटर हाराहारी मोही बिक्री हुने गरेको छ । दसैंमा दहीलाई फिटेर आफैले मोही बनाउने हुँदा दही बढी बिक्री हुने सापकोटाको भनाई छ ।








