
चितवनः चितवन सहित तीन जिल्ला हेर्दै आएको चितवन भूमिगत संयोजनात्मक जल सिचाई आयोजनामा बजेट कम हुँदा किसानका मागअनुसारका आयोजना वन्न सकेका छैनन् । सिचाई संगै कृषि जन्य उत्पादन वढ्दै गएपछि किसानले स्यालो ट्युवेल र डिप ट्युवेलको माग बढाउँदै लगेका छन् ।
कार्यालयमा अहिले सम्म स्यालो ट्युवेल २५० वटा र डिप ट्युवेल ४० वटा माग भएकोमा बजेट अभावले चालु आर्थिक वर्षमा ६२ वटा योजना मात्रै गर्न लागिएको छ ।
आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार चितवनमा ३८ वटा, मकवानपुरमा ५ वटा र नवलपरासी (बर्दघाट सुस्ता पूर्ब)मा १९ वटा योजना संञ्चालन गरिदैं छ । चितवनको इच्छाकामना गाउँपालिका बाहेक अन्य पालिकाहरुमा आयोजना कार्यान्वयन हुने उहाँले बताउनुभयो । यस्तै मकवानपुरको हेटौडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिकामा योजनाहरु रहेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्ब)मा गंैडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका र बिनय त्रिवेणी नगरपालिकामा योजनाको काम हुने उहाँले बताउनुभयो ।
केसीले भन्नुभयो “चितवनबाट धेरै योजनाहरुको माग रहेको छ । तर त्यस अनुसार योजना पर्न सकेन ।” यी योजना सम्पन्न गर्नका लागि रु ४० करोड बजेट बिनियोजन भएको र तोकेर योजना आएकाले जनताको माग अनुसार काम गर्न नसकीने अबस्था रहेको उहाँले बताउनुभयो । बि. सं. २०७७ सालमा स्थापना भएको यस कार्यालयले हाल सम्म लिफ्ट सिचाई ११ वटा, डिप बोरिङ् ९८ वटा जडान गरी ३ हजार ७ सय हेक्टर क्षेत्रफलमा सिचाईको व्यवस्था गरेको छ । बैकल्पिक सिचाईको अभाव भएको स्थानमा संयोजनात्मक सिचाईले काम गर्ने केसीले जानकारी दिनुभयो ।
अघिल्ला वर्षहरुमा मकवानपुर र चितवन मात्रै हेर्दै आएको यस आयोजनाले अहिले नवलपुर(बर्दघाट सुस्ता पूर्ब) समेत थप गरेर योजना आएको हो ।