
चितवनः गुणस्तरीय इट्टा उत्पादन हुँदै आएको चितवनका सबै इट्टा उद्योग बन्द भएका छन् । २० वर्ष अघि सम्म ४४ वटा इट्टा उद्योग संञ्चालनमा रहेकोमा अहिले सबै उद्योग बन्द भएका हुन ।
नेपाल इट्टा उद्योग महासंघका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमश संख्या घट्दै गएर अहिले कुनै उद्योग संञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एक पटक इट्टा उत्पादन गरेको भए पनि यस वर्ष कुनैपनि उद्योग सञ्चालनमा छैनन् । उहाँले भन्नुभयो “गत वर्ष देखिनै यहाँका उद्योग बन्द भए भन्दा हुन्छ ।” एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उहाँले हजारौ मजदुरको रोजिरोटि वन्द भएको र करोडौं रुपैंया उद्योगहरुले नोक्सान बेहोरेको बताउनुभयो ।
चितवनको इट्टा राम्रो इट्टाको रुपमा चिनिन्थ्यो । चितवन र छिमेकी जिल्लाहरुमा यहाँको इट्टा जाने गर्दथ्यो । अहिले यहाँ रौतहट, बारा र महोत्तरीबाट इट्टा ल्याएर बिक्रि बितरण गरिदैं आएको छ । सापकोटाका अनुसार बजार घट्दै जानु, अस्वस्थ प्रतिशपर्धा हुनु, बाहिरबाट ल्याईएका कम गुणस्तरका इट्टा प्रयोगमा आउनु, घनाबस्ति बढ्दैं जानु, माटोको अभाव हुनु, स्थानियले अबरोध गर्नु लगाएतका कारण उद्योग बन्द हुन पुगेका हुन । सरकारले माटोमा अन्तशुल्क लगाउँदा मूल्य बढेर पनि प्रभाव परेको इट्टा उद्योग संघ चितवनका अध्यक्ष समेत रहनु भएका सापकोटा बताउनुहुन्छ । यस्तै अबस्थामा पुनः उद्योगहरु संञ्चालन हुने अबस्था निकै कम रहेको उहाँको भनाई छ ।
जिल्लामा बिगत ४० वर्ष यता व्यवसायीक रुपमा इट्टा उद्योग संञ्चालनमा रहेका थिए ।