चितवनः सौराहाको होटल भिष्टा चितवनका संञ्चालक रमेश शिलवाल आफ्नो होटलको रंग रोगन र सरसफाईमा व्यस्त हुनुहुन्छ । अबको एक दुई दिनमा काम सकेर पर्यटकको पर्खाइमा लाग्ने उहाँको योजना रहेको छ ।
कोठा भित्रको रंगरोगनको काम आज सक्ने तयारीमा रहनु भएका शिलवालले भन्नुभयो “आज साँझ सम्ममा रंगरोगनको काम सकेर टायलमा पुटीन दल्नेकाम सुरु गर्दैछौ ।” उहाँले थप्नुभयो “एक दुई दिन पछि त पर्यटक बोलाउनु प¥यो नी ।” बर्षातको समयमा घुम्नआउने पर्यटकको संख्या निकै कम हुने गर्दछ । केही वर्ष अघि सम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीहरुलाई यो समयमा बिदा नै दिने गर्दथे ।
शिलवालको भनाईमा आजभोली थोरै पर्यटक भए पनि मजदुर कर्मचारी होटलमा रहने गर्दछन् । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिवेला होटलको सरसफाई, रंगरोगन, मर्मत सम्भारमानै व्यस्त हुनुहुन्छ । उहाँले भन्नुभयो “होटललाई राम्रो बनाउने काममा जुटीरहेको छु ।” असोज लागे संगै पर्यटकको आगमन बढ्ने उहाँको अनुमान छ । क्षेत्रीय होटल संघका पूर्ब अध्यक्ष समेत रहनु भएका घिमिरेको भनाईमा बर्षात घटेर बाटो राम्रो भएमा असोज पहिलो साताबाट पर्यटकको आगमन वढ्दै जाने छ । आँफुले होटलका मर्मत सम्भारका सबै काम यो महिना भित्रमा सक्ने तयारीका साथ काम गरेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो “अबको केही दिनमा हाम्रो बगैंचामा ढकमक्क फुल देख्न सक्नुहुन्छ ।” पर्यटकलाई कसरी आकर्षण गर्ने भन्ने तयारीका साथ व्यवसायी जुटेका छन् ।
होटेल सेभेन लिमिटेडमा भने दुई साता देखि पर्यटकको आगमन बढ्न थालिसकेको छ । होटलका प्रबन्ध निर्देशक सन्तोष पाठकले भन्नुभयो “हाम्रोमा दुई साता देखि पर्यटकको राम्रो आगमन हुन थालिसकेको छ ।” बर्षातको समयमा पर्यटक कम हुँदा रंगरोगन र मर्मत सम्भारको काम गरिएको पाठकले बताउनुभयो । होटलको व्यवस्थापन पाठक सहितको समुहले लिए पछि पाँच तारे बनाउने गरी काम थालिएको छ । उहाँको भनाईमा ९८ वटा कोठा थप गरेर एक हजार क्षेमताका दुई हल सहितका संरचना वनाउने तयारी थालिएको छ ।
रेष्टूरेन्ट एण्ड बार एशोसीयशनका पूर्ब अध्यष दिपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० वटा रेष्टूरेन्ट मर्मत सम्भारका काम सकेर पर्यटकको पर्खाइमा रहेका छन् । ३० वटा हात्तीको व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती संञ्चालन सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका खतिवडाले सौराहाका सबै पर्यटन व्यवसायी नयाँ पर्यटकीय मौषममा पर्यटकको पर्खाइमा रहेको बताउनुभयो । क्षेत्रीय होटल संघका महासचिब गुणराज थपलियाले बर्षात संगै बिग्रिएको बाटोका कारण यो वर्षातमा पर्यटकको आगमनमा निकै कमी आएको बताउनुभयो । पर्यटन संग सम्बन्धित व्यवसायीहरु अबको मौसममा पर्यटकको राम्रो आगमन हुने अपेक्षा सहित तयारीमा जुटेको उहाँले बताउनुभयो ।
सौराहामा १५० भन्दा बढी होटल रहेका छन् । ती होटलमा ६ हजार ५ सय जना अट्ने क्षमता रहेको छ । जंगल सफारीका लागि बिश्वमानै प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको प्रबेशद्दारमा सौराहा रहेको छ । थपलियाले भन्नुभयो “स्वदेशी र बिदेशी पर्यटक अबको मौषममा पहिले भन्दा बढ्ने हाम्रो अपेक्षा छ ।”