प्रस्ताब सुवेदी
चितवनः आँफुहरु प्रतिको समाजको दृष्ट्रिकोणलाई चिर्दै यहाँका एक तेस्रो लिङ्गीले मकै पोलेर जिविको पार्जन गर्दै आएका छन् । समाजमा खुलेर आएका तेस्रोलिङ्गीहरु अहिले केही काम गरेर खान पाए हुन्थ्यो भन्नेमा रहेको देखिन्छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० को जेष्ठनागरिक चोकमा मकै पोलेर एक जना तेस्रो लिङ्गीले परिवार पालेका छन् । पर्सा जिल्ला घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने २५ बर्षिय सन्ध्या थारुले मकै पोलेर आफ्नो परिवार पाल्दै आउनु भएको हो ।
श्रीमान पुरुष हुनुहुन्छ भने श्रीमती सन्ध्या तेस्रो लिङ्गी हुनुहुन्छ । श्रीमान तनैया पासवान र सध्या थारुको जोडीले अहिले यहाँको जेष्ठ नागरिक चोकमा मकै वेचेर आफ्नो गुजरा चलाई रहनु भएको छ । तनैया हरिया मकै अटोमा राखेर बेच्दै हिड्नुहुन्छ भने सध्या चोकमा बसेर पोलेको मकै बेच्नुहुन्छ । श्रीमानले अटोमा दैनिक १ सय घोगा हाराहारी हरिया मकै बेच्ने गरेको र आँफुले पनि एक सय हाराहारी पोलेको मकै बेच्ने गरेको सध्याले सुनाउनुभयो । उहाँले भन्नुभयो “पहिला घर व्यवहार चलाउन निकै कठिन भएको थियो । व्यवसाय संगै अहिले त्यस्तो छैन ।”
सुरुवातमा चटपट, पानिपुरीको व्यापार गरेको यो जोडी अहिले मकै बेच्न थालेको हो । सध्याले भन्नुभयो “व्यवसाय गरेको ७ वर्ष भयो । सुरुवातमा ग्राहक नआउने, आए पनि खान नमान्ने जस्तो व्यवहार सहेर यहाँ सम्म आई पुगेका छौ ।” सध्याले पासवानसंग प्रेम विबाह गर्नुभएको हो । परिवारमा जानकारी गराएर नै प्रेम विबाह गरेको उहाँले बताउनुभयो । यो जोडीले अहिले एउटा बच्चालाई धर्म पुत्र बनाएर पालेको छ । रातको समयमा सडक छेउमा बसेर ग्राहक खोज्ने तेस्रो लिङ्गी समुदायलाई सन्ध्याले व्यवसाय गरेर जीवन चलाउन सुझाब दिनुभयो ।
पासवानले भन्नुभयो “जन्मिएको ६ महिनाबाट हामीले बच्चा लिएर पालेका छौ ।” अहिले बच्चा बिद्यालय जाने अबस्थमा पुगेको उहाँले बताउनुभयो । १२ वर्ष अघि बिहे गरेको बताउँदै पासवानले अहिले जाडो समयमा जस्तो व्यवसाय नहुने गरेको बताउनुभयो । सुरुवातमा प्रहरी र नगरप्रहरीले सास्ती दिदाँ पुनः पुरानै काममा फर्कनु पर्ने अबस्था आउँछ की भन्ने चिन्ता लागे पनि अहिले त्यस्तो नभएको बताउनुभयो । समाजमा केही गरेर खान्छौ भन्दा समेत समाजले गर्ने व्यवहारले केही दुःख लागेको उहाँको भनाई छ ।
विबाह गरेको केही समय परिवारले अस्विकार गरेको यो जोडी अहिले घर आउजाउ गर्न थालेको पासवानले बताउनुभयो । घरमा बुबा, दाजु, भाउजु सहितको परिवार रहेको बताउँदै उहाँले अहिले समाज परिवर्तन हुँदा परिवारमा त्यस्तो कुनै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो “अब हाम्रो योजना छोरालाई राम्रो संग पढाउने र परिवार हेर्ने रहेको छ ।” यहाँ कमाएको केही रकम घर चलाउनका लागि समेत पठाउने गरेको उहाँले बताउनुभयो । यस अघिको कमाईले अटो रिक्सा खरिद गरेको बताउने पासवान अबको कमाईले घर जग्गा जोड्ने सोचमा हुनुहुन्छ । ३० बर्षिय पासवान तेस्रो लिङ्गीसंग बिहे गरें भनेर आँफुलाई कुनै पछुतो नलागेको बताउनुहुन्छ ।